Dhulikhel Eco Banner new

कुन खाद्य वस्तु कति मूल्यमा पाइन्छ ?

11.62K
shares

काठमाडौँ, ९ असोज । चाडवाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिने भएको छ ।

अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिए । यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा सामग्री उपलव्ध गराउने उद्देश्य लिइएको उनको भनाइ छ ।

चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।

सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दालहरु, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकिलो रू सातले सस्तोमा बिक्री वितरण हुनेछ ।

गेडागुडीमा १० रूपैयाँ छुट

त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडीहरु, फापरको दाना, चिनी, कागुनो र उवा र जिउँदो खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलोमा  १० रूपैयाँ छुट दिइएको छ ।

यसवर्ष सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई  दुई करोड ३२ लाख २० हजार रूपैयाँ बजेट छुट्याएको छ ।

चिउरामा ७ रूपैयाँ छुट

त्यस्तै, साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले  एक करोड रूपैयाँ छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनलले चिनी प्रतिकिलो  ९७ रूपैयाँ मा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो  दुई र तेल तथा चिउरामा प्रतिकिलो  सात रूपैयाँ छुट दिनेछ ।

 त्यस्तै, दूग्ध विकास संस्थानले घ्यूमा प्रतिकिलो  २० रूपैयाँ, पनीर प्रति दुई सय ग्राममा २० रूपैयाँ र प्रति पाँच सय ग्राममा  ५० रूपैयाँ छुट दिनेछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे्डिरङको काठमाडौँ उपत्यकामा रहेका आठ वटा बिक्री केन्द्र र तीन वटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल रहनेछ ।

त्यसबाहेक मोरङ्ग, झापा, ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ्ग, सिरहा, जनकपुर, पर्सा, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ्ग, मुस्ताङ्ग, रुपन्देही, बाँके, दाङ्ग, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिममा खाद्य व्यवस्था कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ ।

त्यस्तै, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट,  जुम्ला, मुगु, कैलाली, डंडेलधुरा, बाजुरा, बझाङ्ग, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण स्टक रहनेछन् ।

अनलाइन होम डेलिभरी, घुम्ती सेवा

यस्ता पसलहरु आवश्यकतानुसार थप जिल्ला र स्थानहरुमा पनि सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ । निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलहरुकोको माध्यमबाट तोकिए बमोजिमको छुट पाउन सकिनेछ ।

सञ्चालनमा ल्याइएका सहुलियत मुल्य पसलहरु प्रभावकारी भएको नभएको विषयमा अनुगमन समिति पनि बनाइएको छ । चाडबाडको अवधिभर बजार अनुगमनको काम थप तीव्र पारिने मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकाको हकमा उद्योग मन्त्रालयले सहुलियत पसल सञ्चालनको आयोजना अवधिभर अनुगमन टोली बनाई अनुगमन गर्नेछ भने सम्बन्धित संस्थानहरुले पनि आ–आफनो अनुगमन टोली बनाई अनुगमन गर्नेछन् ।

वाणिज्य, आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागबाट पनि नियमित अनुगमनको अतिरिक्त थप अनुगमन टोली बनाई सघन रुपमा अनुगमन गर्नेछ । जिल्लाहरुको हकमा प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन टोली गठन गरी सघन रुपमा अनुगमन गरिने मन्त्रालयले जनाएको छ ।