दशैँका लागि अग्रिम टिकट बुकिङ नखुल्दा यात्रु तनावमा
वि.सं.२०८० असोज १९ शुक्रवार ११:५९
shares

काठमाडौँ, १९ असोज । विगतमा वर्षमा दशैँ सुरु हुनुभन्दा महिना दिन अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष अहिलेसम्म खुलेको छैन । घटस्थापना सुरु हुन नौ दिन मात्रै बाँकी छ । नेपालीको महान चाड दसैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुने गरेको छ ।
यातायात व्यवसायी निरन्तर वर्षाका कारण बाटो बिग्रिएका कारण दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउन समस्या परेको बताएका छन् । समयकै टिकट नखुल्दा उपत्यका बाहिर जाने तयारीमा रहेका यात्रुहरु तनाबमा छन् ।
यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुलुकका मुख्य राजमार्ग बिग्रेका कारण अग्रिम टिकट बुकिङमा ढिलाइ भएको बताए ।
देशभरका सडकमा रहेका खाल्डाखुल्डीले गर्दा सवारी दुर्घटनाको जोखिम रहेको उनको भनाइ छ । ‘दशैँ अगाडि नै सबै सडक मर्मत गरिसक्न हामी सरकारलाई अनुरोध गरिरहेका छौँ ।’ उनले भने ।
महासङ्घका अनुसार हाल मुग्लिङ–पोखरा, नारायणघाट–बुटवल, विपी, अरनिको, ढल्केवर, कोशी ब्यारेजलगायतका राजमार्ग बिग्रेका छन् । यस्तै, काठमाडौँबाट नुवाकोट हुँदै रसुवासम्म जाने बाटोसमेत बिग्रेको छ ।
सरकारले ३५ प्रतिशत भाडा पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारी साधनलाई आवश्यक अन्य सामग्री र जनशक्तिलाई दिइने तलबलगायतका सुविधाका आधारमा निर्धारण गर्दै आएको छ ।
वरिष्ठ उपाध्यक्ष सिटौला पेट्रोलियम पदार्थको आधारमा ३५ प्रतिशत भाडा समायोजन भए पनि बैंकको ब्याजदर, लुब्रिकेन्ट, टायर, तलब भत्तालगायतका सुविधाका लागि ६५ प्रतिशत भाडामा समायोजन नभएको बताउछन् ।
‘महासङ्घले बाटोसहित भाडा समायोजनको मुद्दालाई समेत अगाडि बढाउँदै आएको छ’ उनले भने । बाटोको अवस्था राम्रो भए आफूहरुलाई अग्रिम टिकट बुकिङ खोल्न कुनै आपत्ति नरहेको उनको भनाइ छ । दसैँका समयमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्काे जिल्लामा धेरै यात्रु जाने गरेका छन् । क्षमताभन्दा बढी यात्रु बोक्दा वा खराब अवस्थाका सवारी साधनका कारण दुर्घटनाको जोखिम रहन्छ ।
यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ खोल्नेबारे सरोकारवाला निकायसँगको छलफल सुरु गरेको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल अग्रिम टिकट बुकिङको बारेमा विभाग चाँडै नित्कर्षमा पुग्ने बताउछन् । ‘हामीले सकेसम्म आजै अग्रिम टिकट बुकिङबारे निर्णयमा पुग्छौँ ।’ उनले भने ।
महानिर्देशक रिजालले नेपालको सार्वजनिक यातायातको सङ्ख्या र यात्रुको चापलाई हेरेर विभाग अगाडि बढ्ने बताए । विभागले चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्ने जनाएको छ ।
यात्रु सहायता कक्ष
ट्राफिक प्रहरीले पनि चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गर्ने जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट काठमाडौँ महानगरपालिका र यातायात व्यवस्था विभागसँगको सहकार्यमा यात्रु सहायकता कक्षा स्थापना गरिने बताउछन् । दुर्घटना न्यूनीकरण र चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले ‘ट्राफिक सप्ताह–२०८०’ सञ्चालन गरेको उनको भनाई छ ।
यातायात व्यवसायीका अनुसार प्रत्येक वर्ष चाडपर्वमा लाखौँ व्यक्ति काठमाडौँ छाड्ने गरेका छन् । हाल काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट लामो तथा मध्यम दूरीका सवारीसाधन देशका ६५ भन्दा बढी जिल्लामा सञ्चालन हुँदै आएका छन् ।



















