Dhulikhel Eco Banner new

बिआरआई मनोकामनाको सूची हाेइन कार्यान्वयनयोग्य परियोजना : प्रधानमन्त्री 

5.53K
shares

काठमाडौँ, २१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिटिभ’ (बिआरआई) परियोजनाको कार्यान्वयनलाई प्राथमिकताकासाथ अघि बढाउने बताएका छन् ।

बिआरआई सुरुवात भएको १० वर्ष पुगेको उपलक्षमा आइतबार नेपाल–चीनमैत्री मञ्चले काठमाडौंमा आयोजना गरेको ‘बिआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक गोष्ठीमा प्रधानमन्त्री दाहालले बिआरआई परियोजना मनोकामनाको सूची नभई कार्यान्वयनयोग्य परियोजना भएको बताए । उनले बिआरआईअन्तर्गत परियोजना छनोट र कार्यान्वयन हुनेगरी विकास निर्माणका परियोजना अगाडि बढाउने सरकारको स्पष्ट धारणा रहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले बिआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्र गतिमा अगाडि बढाउन चाहेको धारणा राखे । ‘बिआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएकोमा प्रश्नहरू यदाकदा सुनिने गरेका छन् । यसका लागि कोभिड महामारी, हाम्रो प्रणाली र संरचनागत सीमाहरू समेत जिम्मेवार छन् । तर, नेपाल बिआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्र गतिमा अगाडि बढाउन चाहन्छ ।’ उनले भने ।

नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुनेछ भन्ने चिनियाँ राष्ट्रपति सी चिनफिङको भनाइप्रति आफ्नो पूर्ण सहमति रहेको भन्दै प्रधानमन्त्री दाहालले उक्त विषय आफूले पनि केही दशकदेखि दृढतापूर्वक भन्दै आएको बताए । ‘अब हामीले उक्त युक्तिलाई वास्तविकतामा बदल्न सामूहिक पहलकदमी लिनुपर्नेछ’ उनले भने ‘तसर्थ, यस्ता परियोजनाको वित्तीय लगानीको मोडेलका बारेमा हामी अझ मसिनो ढङ्गले छलफल गर्नेछौं । चिनियाँ पक्षले पनि लगानीसम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनाका सन्दर्भमा नेपालका लागि अनुदान र सहायताको नीति लिने हाम्रो विश्वास छ ।’

प्रधानमन्त्री दाहालले विश्वकै लागि अनुकरणीय छिमेकी र असल मित्र राष्ट्र चीनको यो अभूतपूर्व विकास नेपालका लागि ठूलो शिक्षा र अवसर दुवै भएको भनाई राखे । उनले नेपाल चीनको यो द्रूततर विकास, गरिबी निवारण तथा चीनले अगाडि सारेको दीगो विकास तथा साझा समृद्धिको अवधारणा (बिआरआई)बाट पूरा गर्न चाहेको उल्लेख गरे ।

उनले नेपाललाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो रहेको र परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै आवश्यकता पूरा हुनसक्ने परिस्थिति नरहेको धारणा राखे । विकास निर्माणलाई तीब्र बनाउन थप बाह्य पुँजीको खाँचो रहेकोको सन्दर्भमा बिआरआई नेपालका लागि महत्वपूर्ण स्रोत हुने उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले विगत १० वर्षमा बिआरआईमार्फत मात्र एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भएको तथ्याङ्क सावर्जनिक भइरहँदा नेपालले तुलनात्मक रूपमा उल्लेख्य लगानी भित्राउन नसकेको बताए । उनले अब छिटै कार्ययोजना बनाएर समयवद्ध कार्यतालिकाअनुरूप दुबैतर्फका र साझा संयन्त्रलाई परिचालन गरेर छिटो काम गर्नुपर्नेमा जोड दिए ।

एक चीन नीतिमा दृढ

प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिको पक्षमा दृढ रहेको दोहो-याउँदै नेपाली भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न नदिइने स्पष्ट पारे । ‘नेपाल विगतदेखि नै एक चीन नीतिको पक्षमा दृढ रहँदै आएको छ । हामी वर्तमान र भविष्यमा समेत एक चीन नीतिप्रति दृढ रहनेछौँ । नेपाली भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न दिइने छैन । यो नेपाल सरकारको प्रष्ट दृष्टिकोण हो ।’ उनले भने ।

नेपालको आर्थिक सामाजिक विकासमा चीनले पु¥याएको मूल्यवान सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको उद्देश्य तथा सिद्धान्त र पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्ध यस क्षेत्रकै शान्ति, स्थायित्व र समृद्धिका लागि महत्वपूर्ण रहेको र आफहरु सोही उद्देश्य प्राप्तिमा निरन्तर लाग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले विगतमा आफू सरकारको नेत्तृवमा रहँदा र चिनियाँ राष्ट्रपति सी चीनफिङको सन् २०१९ मा भएको नेपाल भ्रमण र त्यसपछि पनि भएका विभिन्न द्विपक्षीय भ्रमणका उपलब्धिलाई संश्लेषण गर्दै बिआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए ।