Dhulikhel Eco Banner new

काेइला किन्ने पैसा नभएपछि सिमेन्ट उत्पादन बन्द

8.93K
shares

मकवानपुर १३ कात्तिक । हेटौँडा सिमेन्ट उद्योगले आर्थिक सङ्कटको कारण समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन आजदेखि बन्द गरेको छ । सो उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादसैँको बिदा हुनुअघिसम्म सो उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिए ।

उनले आर्थिक सङ्कटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसक्दा सिमेन्ट उत्पादन बन्द गरिएको बताए । आर्थिक सङ्कटबारे सङ्घीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको बताउदै आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने बताए।

कूल तीन लाख बोरा सिमेन्ट काठमाडौँलगायतका विभिन्न सहरमा बिक्री वितरण तयारी गरिएको र यसको आम्दानी कोइला खरिद लगाइने उद्योगले जनाएको छ ।

चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ । कोइला खरिद गरेर ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने भएको उनले बताए । विसं २०३३ मा लामसुरेमा स्थापित सो उद्योगले विसं २०४३ साल मङ्सिर २६ गतेबाट व्यावसायिकरुपमा उत्पादन सुरु गरेको थियो । सो उद्योगमा करिब तीन सय ९० कर्मचारी कार्यरत  छन् ।