Dhulikhel Eco Banner new

भूकम्प पीडितको बेहाल : अझै त्रिपाल समेत पाएनन्

7.7K
shares

जाजरकोट, २२ कात्तिक । गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किइन् । घरबाट बाहिरिने क्रममा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन् । उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आएकी छिन् ।

उनलाई अहिले पनि जति बेला पनि भुईचालो गइरहे जस्तो लाग्छ र शरीर हल्लाइरहेको जस्तो । उनकी १४ वर्षीया छोरीसमेत राति सुतिरहेको समयमा ‘हल्लायो हल्लायो’ भन्दै कराउछिन् बेला बेलामा । भूकम्पले मानसिक त्रासमा रहेका अधिकांश सदरमुकामवासी अहिले सडकको छेउछाउमा त्रिपालको सहारामा रातदिन कटाइरहेका छन् । सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाम भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर भत्किएपछि समस्यामा परेका छन् ।

राहत सामग्रीस्वरुप आएको त्रिपाल, अन्य सामग्री घरधनिका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले जानकारी दिइन् । वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनिबाहेक अन्यले नपाउने भनेपछि आफूहरु हैरानीमा परेको उनको भनाइ छ ।

भूकम्पले घर भत्किएका अर्का पीडित गणेश थापाले वडा कार्यालयबाट त्रिपाल समेत पाएनन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुन ः एक थान त्रिपाल पाएको उनले बताए । ‘सुरुमा क्षति भएको नामावली सङ्कलन गर्दा हाम्रो पनि नाम लेखेको थियो पछि नाम काटेछन् ।’ घर पूर्ण रुपमा भत्किएर समस्यमा परेको थाप्लेका झलक मल्लका परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैनन् । उनको परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न पाएका थिएनन् । भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा समस्या रहँदै आएको छ । समयसमयमा भूकम्पको पराकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताए ।

बालबालिका र वृद्ध सबैभन्दा बढी त्रासमा भएको उनको भनाई छ । घरसँगै विद्यालयसमेत भत्किएपछि बालबालिका थप मानसिक समस्यामा छन् । घर भत्किएको छ भने पढ्न जाने विद्यालयसमेत भत्किएको छ । बिस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरि एकपटक विकासको बाटो बन्द गरिदिएको छ ।

कुन पालिकामा कति क्षति

भेरी नगरपालिकामा तीन सय ४४ घर पूर्णरुपमा भत्किएका छन् भने आंशिक सात सय १२, दुईवटा विद्यालय पूर्ण रुपमा भत्किएको र १७ वटा आंशिक रुपमा क्षति भएको छ ।

त्यस्तै भेरी नगरपालिकामा पाँचवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । मृत्युको सङ्ख्या ३६ रहेको छ भने घाइते ६५ रहेको छ । नलगाड नगरपालिकामा दुई सय घर पूर्णरुपमा क्षति भएको र ६ सय घर आंशिक भत्किएका छन् । विद्यालय १२ पूर्ण रुपमा भत्किएका छन्भने आंशिक रुपमा २१ वटामा क्षति पुगेको छ । ६ वटा सरकारी कार्यालयमा क्षति भएको छ । मृत्यु हुनेको सङ्ख्या ५२ रहेको छ । ७३ जना घाइते भएका छन् । छेडागाडमा एक सय घरमा पूर्ण क्षति भएको र आंशिक रुपमा पाँच सयमा क्षति भएको छ ।

तीन विद्यालयमा आंशिक क्षति भएको पाइएको छ । मृत्यु दुईजनाको भएको छभने घाइते एकजना भएको बताएको छ । कुशे गाउँपालिकामा ९५ घर पूर्णरुपमा क्षति भएको छभने तीन सय एकवटा आंशिक रुपमा क्षति पुगेको छ ।

चारवटा विद्यालय पूर्णरुपमा भत्किएका छन् भने १७ वटा आंशिक रुपमा क्षति भएको पाइएको छ । सरकारी कार्यालय एकवटा पूर्णरुपमा भत्किएको छभने १७ आंशिक रुपमा क्षति पुगेको छ । दुईजनाको मृत्यु र एकजना घाइते भएको कुशेमा पाइएको छ । प्रहरीका अनुसार १६० घरहरु पूर्ण रुपमा बारेकोटमा भत्किएका छन्भने पाँच सय ६० घर आंशिकरुपमा क्षति पुगेको छ । पाँचवटा विद्यालय पूर्णरुपमा भत्किएका छन्भने दुईवटा आंशिकरुपमा भत्किएको पाइएको छ । एक सरकारी कार्यालय पूर्ण रुपमा भत्किएको र दुई कार्यालय आंशिक क्षति पुगेको जानकारी प्राप्त भएको छ । चारजनाको मृत्यु तथा चारजना घाइते भएका छन् ।

शिवालय गाउँपालिकामा एक घर पूर्णरुपमा भत्किएको र ३७ वटा घर आंशिक क्षति भएको छ । पाँचवटा विद्यालयमा आंशिक क्षति पुगेको छ । एक सरकारी कार्यालयमा क्षति पुगेको बताएको छ । एकजना घाइते भएका छन् । जुनिचाँदे गाउँपालिकामा दुई सय ७० घर पूर्ण रुपमा भत्किएको र चार हजार ५६ घरमा आंशिक क्षति भएको छ । जाजरकोटमा एक हजार एक सय ७० घर पूर्णरुपमा क्षति भएको पाइएको छ । सात हजार एक सय ६६ वटा घर आंशिक रुपमा क्षति भएको पाइएको छ । २३ विद्यालयको पूर्ण क्षति र ७५ आंशिक क्षति भएको जानकारी आएको छ । एक सय एक जनाको मृत्यु भएको छ । एक सय ५२ घाइते भएको प्रहरीले जनाएको छ ।