Dhulikhel Eco Banner new

पर्यटकीय गन्तव्य बन्दै थामचौर

5.8K
shares

बागलुङ, २३ फागुन । बागलुङको बडिगाड गाउँपालिका–७ थामचौर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।

समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको यस क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर लगानी गर्दै आएको छ ।

पछिल्लो समय घुम्ने संस्कृति बढेसँगै थामचौर क्षेत्रमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । उच्च पहाडी क्षेत्रमा रहेको थामचौरमा स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने मनोरम दृश्यावलोकनका लागि पर्यटक पुग्ने गरेका हुन् ।

थामचौरमा पालिकाले मन्दिर र शौचालय निर्माण गरेको भन्दै खानेपानी व्यवस्थापन र वनभोज स्थल (पिकनिक) बनाउन थालिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् ।पहिले पैदल यात्रामार्फत पुग्ने पर्यटक हिजोआज मोटरगाडीमा सहजै पुग्न सक्ने उनको भनाइ छ ।

अध्यक्ष अधिकारीले भिमगिठे बजारबाटबाट गाडीमा ४० मिनेट लाग्ने हुँदा बिदाको समय र विभिन्न चाडपर्वमा बाहिरी जिल्लाबाट समेत पर्यटक आउने गरेका बताइन् ।

आगन्तुकको सहजताका लागि ठाउँठाउँमा बस्ने चौताराको व्यवस्थापन तथा वन्यजन्तुका लागि वरपर पोखरीसमेत निर्माण भएको उनले जानकारी दिइन् ।

वनभोजका लागि छुट्टै स्थल बनाउने योजना रहेको भन्दै उनले सडक पूर्वाधारको विस्तार भएकाले पर्यटकको सङ्ख्यामा थप वृद्धि हुने बताइन् ।

चालू आर्थिक वर्षमा पालिकाले सडक विस्तारका लागि रू २० लाख विनियोजन गरेको छ ।

बडिगाड–७ का पूर्ववडाध्यक्ष कृष्ण गुरुङले पिकनिकको सिजनमा बागलुङसहित अन्य जिल्लाबाट आउनेको भिड हुने बताइन् ।