सिन्धुपाल्चोकमा विपद् प्रभावित ५८ परिवारलाई घर
वि.सं.२०८१ वैशाख ३ सोमवार १५:४४
shares

काठमाण्डौ ३ वैशाखः सिन्धुपाल्चोकमा विभिन्न समयमा आएका प्राकृतिक विपत्तिका घटनामा परेका ५८ परिवारको निजी आवास पुनःनिमाण सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालयका विपद् ‘फोकल पर्सन’ रविराज धितालका अनुसार ४ सय ८१ परिवारले भने जग्गा खरिदसमेत गरेका छन् । उनीहरूले सरकारी अनुदानबापतको अन्तिम किस्ता २ लाखसमेत गरी कूल ५ लाख भुक्तानी लिएका हुन् ।
कूल एक हजार २ सय ५४ लाभग्राहीले पुनःनिर्माणका लागि सम्झौता गरेकामा एक हजार आठ परिवारले पहिलो किस्ताबापतको ५० हजार प्राप्त गरेका छन्। १ सय ८८ परिवारले भने दोस्रो किस्ताबापतको २ लाख ५० हजार प्राप्त गरेका हुन् ।
जग्गा खरिदका लागि ४ सय ८१ परिवारले प्रतिपरिवार ३ लाखका दरले कूल रु १४ करोड ४३ लाख लिएका छन् । यसरी स्थायी आवास निर्माण किस्ताबापत वितरण गरेको कूल रकम २६ करोड ५६ लाख रहेको धितालले बताए ।
अस्थायी आवास निर्माणका लागिसमेत सरकारले प्रतिपरिवार ५० हजार दिनेछ । यसअन्तर्गतसमेत जिल्लामा ७ सय ६७ परिवारले पहिलो किस्ताका रुपमा २५ हजार र १ सय ११ परिवारले अन्तिम किस्ताका रुपमा २५ हजार प्राप्त गरेका छन् । गत चैत मसान्तसम्म अस्थायी आवास निर्माणका लागि जिल्लामा २ करोड १९ लाख ५० हजार खर्च भएको छ ।



















