Dhulikhel Eco Banner new

कहाँ अल्झियो सेवोन अध्यक्ष नियुक्ति प्रक्रिया ? कहिले फुक्ला गाँठो ?

उपाध्यक्ष भन्छन्– मेरा लागि इतिहासकै लामो भयो

4.76K
shares

काठमाडौं, ६ जेठ । पुँजी बजार क्षेत्रको नियमाक निकाय धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयदेखि अलमलमा छ । तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड अध्यक्ष बिहीन बनेको थियो । हमालको कार्यकाल २० पुसमै सकिएको थियो ।

बोर्ड नेतृत्व विहीन बनेको यतिका समयसम्म किन नयाँ अध्यक्ष नियुक्त भएन भनेर आम चासोको विषय बनेको छ । इकोनामिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको प्रिबजेट छलफलमा पनि सरोकारवालाले यो विषय जोडतोडले उठाएका थिए ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले पोडिएमबाटै अध्यक्ष नियुक्ति नहुँदा धेरै हाइड्रो कम्पनीहरुले आईपीओ जारी गर्न नपाएको गुनासो गरेका थिए । कार्की मात्रै होइन अहिले पुँजी बजार क्षेत्रका सरोकारवालाहरु धेरैले यसप्रति आपत्ति जनाएका छन् । सबैको प्रश्न छ, ‘अध्यक्ष नियुक्ति कहिले हुन्छ ?’

अध्यक्ष नियुक्ति कहिले हुन्छ भन्ने जानकारी पाउनु अघि के कारणले ढिला भएको हो भन्ने बुझौँ । पहिलो कुरा त नियुक्ति प्रक्रिया सुरु गर्न नै सरकारलाई ढिला भयो । सरकारले बोर्ड अध्यक्ष रिक्त भएको १५ दिन पछि अर्थात ४ माघमा मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गर्यो ।

मन्त्रिपरिषद् बैठकले ४ माघमा नै समिति गठन गरेको समाचार बाहिर आए पनि समितिले काम सुरु गर्न भने पाएन । समिति गठन गर्ने निर्ण भएपछि अर्थमन्त्रालयले समितिलाई पत्र पठाउनु पर्ने थियो । पत्र पठाउनै लामो समय लाग्यो ।

आयोगका उपाध्यक्ष डा. श्रेष्ठले पत्र पाएको भोलि पल्ट नै पहिलो बैठक राखे । समिति सदस्यका रुपमा तत्कालिन अर्थसचिव कृष्णहरी पुष्कर दुई साता लामो अमेरिका भ्रमणमा निस्किएका कारण प्रक्रिया झन ढिला भयो । तत् पश्चात पनि कहिले उपाध्यक्ष बाहिर हुने कहिले अर्थसचिव विदेश सयरमा हुने क्रमले काम ढिला भयो । यद्यपि, २५ चैत्रमा समितिले ५ जनाको नाम सर्टलिस्ट गर्यो ।

अब ३ जनाको नाम सर्टलिस्ट गर्न गाह्रो थिएन । सर्टलिस्ट गर्नका लागि प्रस्तुतिकरणमा बोलाउने समितिले निर्णय गरेपनि कार्यान्वयन हुन सकेन । अर्थसचिव कृष्णहरी पुष्करको सरुवा भएर उनको ठाउँमा मधु मरासिनी आए । भर्खरै आएका सचिवलाई प्रक्रियाबारे बुझ्न केही दिन लाग्ने नै भयो । त्यसपछि संयोजक रहेका आयोग उपाध्यक्ष श्रेष्ठलाई १६औँ पञ्चवर्षीय योजनाले र अर्थसचिवलाई बजेटको चटारोले थिच्यो । जसले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया ढिला भयो ।

कहिले फुक्ला त गाँठो ?

अध्यक्ष नियुक्ति प्रक्रियामा अहिले एउटा गाँठो परेको छ । त्यो गाँठा कहिले फुक्ला त ? संयोजक श्रेष्ठका अनुसार अब बजेट पछाडि नियुक्तिका लागि ३ जनाको नाम छनोट हुनेछ । त्यसलगत्तै तीन मध्येबाट एक जनालाई सरकारले बोर्ड अध्यक्ष नियुक्ति गर्नेछ ।

आयोगले केही दिन अघि गरेको पत्रकार सम्मेलनमा पनि यो विषय उठेको थियो । यसबारे उपाध्यक्षले प्रष्टिकरण दिनु परेको थियो । बजेट पछि अध्यक्ष नियुक्ति हुन्छ भन्ने विषय भने क्लियर छ । अर्थमन्त्रालयले पनि यसको पुष्टि गरेको छ । बजेटको चटारोले नभ्याएको भन्दै अब बजेट लगत्तै नियुक्ति प्रक्रिया अघि बढ्ने मन्त्रालयले बताएको छ ।