देशको अर्थतन्त्रका सूचकहरू सुधार गर्नका लागि नवप्रवर्तनमा जोड दिनु पर्छ : उद्योग सचिव राउत
वि.सं.२०८१ मंसिर ३ सोमवार १४:२२
shares

काठमाडौं, ३ मंसिर । उद्योग सचिव कृष्णबहादुर राउतले देशको अर्थतन्त्रका सूचकहरू निराशाजनक रहेकाले यसलाई सुधार गर्नका लागि नवप्रवर्तनमा जोड दिनु पर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवप्रवर्तन संवाद कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रका सूचकहरू निराशाजनक रहेको बताएका हुन् ।
देशको अर्थतन्त्रका सूचकहरू निराशाजनक रहेकाले यसलाई सुधार गर्नका लागि नवप्रवर्तनमा जोड दिनु पर्ने बताए । ‘स्टार्टअप र नवप्रवर्तनको विकासमा सहजीकरण गर्नका लागि औद्योगिक बौद्धिक सम्पत्ति विधेयक संशोधनका लागि संसदमा पठाएका छौँ’ उनले भने, ‘लघु घरेलु उद्यम नीति मन्त्री परिषदमा स्वीकृत हुने क्रममा रहेको छ।’
अर्थतन्त्रको सुधारका लागि नेपालका विश्वविद्यालयमै स्टार्टअपका कार्यक्रम दिएर स्टार्टअपलाई अभियानका रूपमा लैजान सरकार लागि परेको बताएका छन् । युवाहरूलाई नवप्रवर्तनमा आकर्षण गर्नका लागि स्टार्टअप कर्जासमेत दिने गरेको छ । धेरै ढिलो भए पनि सरकारले गत वर्षदेखि स्टार्टअप सुरु गरिएको हो । गत वर्ष स्टार्टअप कर्जा वितरणका लागि २५ करोड बजेट छुट्टाइएको थियो,’ उनले भने, ‘चालु वर्ष १ अर्ब कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ।’
सरकारले स्टार्टअप नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याएको उनले बताए । यसैगरी सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएकाले वैदेशिक आर्थिक सहयोगहरू नआउने र देशको अर्थतन्त्रमा ह्रास आउने बताए ।
संघ प्रदेश र स्थानीय तहमा साना तथा लघु घरेलु उद्योग दर्ता गर्ने व्यवस्था गरिने उनको भनाइ छ । ‘साना व्यवसाय अर्थतन्त्रको मेरुदण्ड हो । यसले करिब ३२ लाख रोजगारी दिएको छ । देशको आर्थिक सुधारमा महत्त्वपूर्ण योगदान छ । यसलाई तिनै तहमा सहजै रूपमा दर्ता गर्न मिल्ने बनाउँछौँ’ उनले भने ।



















