भट्टको सट्टा पौडेललाई गभर्नर बनाउने प्रस्ताव, आर्जुको सहमति
वि.सं.२०८२ वैशाख २८ आइतवार ११:३०
shares

काठमाडौं, २८ वैशाख । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई बनाउन नेपाली कांग्रेसकी प्रभावशाली नेतृ आर्जु राणा तयार भएकी छिन् । डा. गुणाकर भट्टराई गभर्नर बनाउन एमालेले सहयोग नगरेपछि विकल्पका रुपमा डा. प्रकाशशरण महतले पौडेलको नाम अघि सारेका थिए ।
पौडेलको नाम आए पछि आर्जुले समेत सहमति जनाएको नेपाली कांग्रेसका एक प्रभावशाली नेताले केटिएम भ्वाइसलाई बताए । उनका अनुसार पौडेललाई गभर्नर नियुक्त गर्ने प्रस्ताव लगे कामू गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको सहयोगको आवश्यकता पर्दैन ।
एमालेको भागमा पर्दा निलम सबैभन्दा बलियो प्रतिष्पर्धी हुन् । तर भागवण्डामा नै एमालेले गभर्नर पद कांग्रेसको जिम्मा लगाएकाले चुचुरोमा पुगेर पनि इतिहास रच्ने अवसरबाट बिमुख हुने देखिएको छ । कांग्रेस नेताहरुको बुझाइमा पनि डा. पौडेल गभर्नरका लागि क्षमता भएकै व्यक्ति हुन् ।
उनी राष्ट्रिय योजना आयोग जस्तो संस्थाको उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । आम निर्वाचनमा चितवनबाट पराजय बेहोरेपछि भने उनी अध्ययन, अध्यापन र लेखनमा सकृय छन् । पदीय हिसाबले गभर्नर भन्दा योजना आयोगको उपाध्यक्ष पद धेरै ठूलो हो । तर, पावर र शक्ति प्रदर्शनका हिसाबले गभर्नर पद निकै शक्तिशाली मानिन्छ । यस अघि पनि योजना आयोगको उपाध्यक्ष भइसकेका व्यक्ति गभर्नर बनेको इतिहास भएकाले पौडेललाई गभर्नर बनाउदा राम्रै सन्देश जान सक्ने डा. महतको बिफ्रिङ थियो ।
डा. पौडेल अहिले गभर्नर नियुक्त गर्नका लागि गठित सिफारिस समितिको सदस्य छन् । उनी गभर्नर बन्ने पक्का भयो भने आजभोलि मै समितिबाट राजीनामा दिनेछन् । उनको राजीनामा पछि सरकारले अर्को समिति बनाउनेछ । उनीसहित ३ जनाको नाम सिफारिस भएपछि मात्रै उनी गभर्नर नियुक्त हुन सक्नेछन् ।



















