Dhulikhel Eco Banner new

विकाश हाइड्रोपावरको मंगलवारदेखि आईपीओ निष्कासन तथा बिक्री खुला

2.91K
shares

काठमाडौं, ६ जेठ । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले मंगलवारदेखि पहिलो चरणको प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले जम्मा ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण शेयर सार्वजनिक निष्कासनको लागि ल्याएको हो।

यसमध्ये ९ लाख ९ हजार १०१ कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ भने ३ लाख ५४ हजार ५५० कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि छुट्याइएको छ।

आयोजना प्रभावितहरूका लागि छुट्याइएको शेयरमध्ये गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर ४ र ५ का स्थायी बासिन्दाहरूलाई ४० प्रतिशत अर्थात् ३ लाख ६३ हजार ६४० कित्ता र सोही गाउँपालिकाको वडा नम्बर १, २, ३, ६ र ७ का स्थायी बासिन्दाहरूलाई ६० प्रतिशत अर्थात् ५ लाख ४५ हजार ४६१ कित्ता शेयर दिइनेछ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका लागि आवेदन दिने अन्तिम मिति जेठ २० गतेसम्म रहेको छ तर आवश्यक संख्यामा आवेदन नपरेमा आवेदन अवधि असार ४ गतेसम्म लम्बिन सक्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको हकमा भने आवेदन अवधि जेठ २० गतेमै अन्त्य हुनेछ। पहिलो चरणको आईपीओ बाँडफाँड भएपछि बाँकी रहेका ३५ लाख ४५ हजार ४९५ कित्ता शेयरमध्ये कम्पनीका कर्मचारीहरूका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ७७ हजार २७५ कित्ता सुरक्षित गरिनेछ।

यस्तै, बाँकी २९ लाख ४२ हजार ७६० कित्ता शेयर दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।