Dhulikhel Eco Banner new

अवैध कारोबारमा संलग्नता भेटिएपछि पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज

3.13K
shares

काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज गरेको छ। बिहीवार सार्वजनिक निर्णयअनुसार, यी कम्पनीहरू अवैध सुन कारोबारको भुक्तानी प्रक्रियामा संलग्न रहेको पाइएको भन्दै अनुमति खारेज गरिएको हो।

राष्ट्र बैंकका अनुसार, दुवै कम्पनीले सम्पत्ति शुद्धीकरण निवारण ऐन र राष्ट्र बैंकको नियमन सम्बन्धी कानुनी प्रावधानहरू उल्लंघन गरेका थिए।

पेवेल नेपालले २०७७ साल असोज ११ गते र सजिलो पे पेमेन्टले २०७७ साल चैत १७ गते डिजिटल पेमेन्ट सेवा सञ्चालनको लागि राष्ट्र बैंकबाट अनुमति पाएका थिए। तर, पछिल्लो अनुसन्धानले यी कम्पनीहरू अनधिकृत सुन कारोबारसँग जोडिएको भुक्तानी प्रणालीमा संलग्न रहेको प्रमाणित गरेपछि राष्ट्र बैंकले कडा कदम चाल्दै दुवैको लाइसेन्स खारेज गरेको हो।

राष्ट्र बैंकले आर्थिक प्रणालीलाई सुरक्षित, पारदर्शी र कानुनी दायराभित्र राख्न डिजिटल भुक्तानी सेवा प्रदायकहरूमाथि निगरानी बढाउने जनाएको छ। साथै, यस्ता अनियमित क्रियाकलापमा संलग्न कम्पनीहरूमाथि आवश्यक कानुनी कारबाही समेत अघि बढाइने स्पष्ट पारेको छ।