Dhulikhel Eco Banner new

बजेट कर्मकाण्डी होइन, तथ्यमा आधारित छः अर्थमन्त्री पौडेल

2.78K
shares

काठमाडौं, १८ असार । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई कर्मकाण्डी नभई तथ्यपरक र प्रणालीमा आधारित भएको बताएका छन्।

बुधवार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले बजेट तजबिज ढंगले नभई योजना, नीति र तथ्यमा आधारित रहेर तयार पारिएको स्पष्ट पारे। उनले बजेटमार्फत मुलुकको अर्थतन्त्रलाई सन्तुलित, पारदर्शी र जवाफदेही बनाउन प्रयत्न भएको उल्लेख गरे।

ऋणको सीमा असिमित नहोस् भन्नेमा सरकार सचेत रहेको भन्दै पौडेलले उत्पादन र पूँजीगत खर्चमा बजेटको अधिकतम सदुपयोग गर्न विशेष ध्यान दिइएको बताए। उनले कर दायरा विस्तार, चुहावट नियन्त्रण, सूचना प्रविधिको प्रयोग र राजस्व प्रशासन सुदृढीकरण जस्ता पहलमार्फत राजस्व लक्ष्य हासिल गरिने दाबी गरे।

सुनका गहना कारोबार, विलासिता कर र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिनु आवश्यक भएकाले केही कर नीतिमा कडाइ गर्नुपरेको बताए। सुन गहना कारोबारमा कर लगाउने निर्णय व्यापारीको गुनासोको बीचमा छलफल हुँदै गएको र साझा निष्कर्षमा पुगिने विश्वास उनले व्यक्त गरे।

अन्त्यमा मन्त्री पौडेलले आगामी वर्षको बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार ल्याइएको दाबी गर्दै देशको आर्थिक रूपान्तरणमा यो बजेटले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।