Dhulikhel Eco Banner new

कर्णाली विकास बैंक घोटालाः पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ

2.86K
shares

काठमाडौं, १८ असार । कर्णाली विकास बैंकमा भएको साढे दुई अर्ब रुपैयाँको आर्थिक घोटाला प्रकरणमा अनुसन्धान तीव्र बनाउँदै गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्रलाई पक्राउ गरेको छ।

सीआईबीको टोलीले मिश्रलाई बुधबार नेपालगञ्जको धम्बोजी चोकबाट नियन्त्रणमा लिएको हो। उनी २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष पदमा थिए र सो अवधिमा संस्थागत सञ्चालकका रूपमा बैंक सञ्चालनमा प्रत्यक्ष भूमिका खेलेका थिए।

पूर्वअध्यक्ष मिश्र नेकपा ९एमाले० का केन्द्रीय सदस्यसमेत हुन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेले उनलाई नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका लागि उम्मेदवार सिफारिस गरेको थियो।

बैंकमा भएको करीब दुई अर्ब ५० करोड रुपैयाँ बराबरको अपचलन योजनाबद्ध ढंगले सञ्चालकहरूकै मिलेमतोमा गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबी स्रोतको भनाइ छ। हाल कर्णाली विकास बैंक नेपाल राष्ट्र बैंकको प्रत्यक्ष व्यवस्थापनमा सञ्चालनमा छ।

यसअघि नै सीआईबीले सो घोटालामा संलग्न रहेको आरोपमा संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहित तीन जनालाई पक्राउ गरिसकेको छ। बैंकिङ प्रणालीमाथिको विश्वासलाई गम्भीर धक्का दिने यो घटनामा अन्य संलग्नहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउने सीआईबीले जनाएको छ।