Dhulikhel Eco Banner new

अनधिकृत बैंक कारोबार देखिए तुरुन्त खबर गरौंः राष्ट्र बैंक

3.12K
shares

काठमाडौं, ३१ असार । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ सेवा विस्तारसँगै बैंक तथा वित्तीय कारोबारमा ठगीको जोखिम बढ्दै गएको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा द्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ कि आधुनिक डिजिटल प्रविधिको प्रयोगसँगै वित्तीय अपराधको स्वरूप पनि बदलिँदै गएको छ र यस्ता ठगीहरू दिनदिनै थप जटिल बन्दै गएका छन्।

राष्ट्र बैंकले ओपिटि, पासवर्ड वा बैंक सम्बन्धी कुनै पनि गोप्य विवरण कसैसँग पनि नबाँड्न उपभोक्तालाई सुझाव दिएको छ। यस्तो जानकारी साझा गरेमा ठगहरूले प्रयोगकर्ताको खातामा पहुँच बनाई अनधिकृत रूपमा रकम निकाल्न सक्ने चेतावनी दिइएको छ।

सन्देशका अनुसार, “यदि तपाईंको खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउनु भयो भने ढिलो नगरी तुरुन्तै सम्बन्धित बैंक वा वित्तीय संस्थाको ग्राहक सेवा केन्द्र, टोल फ्री नम्बर वा राष्ट्र बैंकको गुनासो प्रणालीमा जानकारी गराउनुहोस्।”

राष्ट्र बैंकले गुनासोका लागि www.gunaso.nrb.org.np अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। त्यस्तै, १२८ र ०१-५७१९६०५ नम्बरहरूमा सम्पर्क गरी आवश्यक सहयोग प्राप्त गर्न सकिने जानकारी दिइएको छ।

राष्ट्र बैंकका अनुसार अनधिकृत कारोबार भएमा यथाशीघ्र जानकारी गराउनु नै सम्भावित थप नोक्सानीबाट बच्ने उत्तम उपाय हो। ढिलो गर्दा रकम अन्य खातामा सारिने सम्भावना बढी हुने भएकाले समयमै खबर गर्नु अत्यन्त जरुरी हुने बताइएको छ।

राष्ट्र बैंकले सबै नागरिकलाई सतर्क, जिम्मेवार र सुरक्षित वित्तीय व्यवहार गर्न आग्रह गर्दै, आफू र अरूलाई पनि डिजिटल वित्तीय ठगीबाट जोगाउन सक्रिय भूमिका खेल्न अनुरोध गरेको छ।