कर्णाली प्रदेशमा कृषि, उद्योग र सेवा क्षेत्रमा कर्जा प्रवाह वृद्धि
वि.सं.२०८२ असार ३१ मंगलवार १२:२०
shares

काठमाडौं, ३१ असार । कर्णाली प्रदेशमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले कृषि, उद्योग र सेवा क्षेत्रतर्फ कर्जा प्रवाह विस्तार गर्दै लगेका छन्। नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कृषि क्षेत्रमा प्रवाहित कर्जा १४.०१ प्रतिशत र औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा १४.९५ प्रतिशतले वृद्धि भएको देखिएको छ।
प्रदेशका कुल कर्जामध्ये ८४.८९ प्रतिशत सेवा क्षेत्रमा प्रवाहित भएको छ भने कृषि क्षेत्रमा ८.७१ प्रतिशत र औद्योगिक क्षेत्रमा ६.४१ प्रतिशत कर्जा प्रवाह भएको छ। कृषि क्षेत्रमा प्रवाहित कर्जा ५ अर्ब १५ करोड ५६ लाख रुपैयाँ पुगेको छ, जसमध्ये सबैभन्दा धेरै कर्जा सुर्खेतमा १ अर्ब ८५ करोड ८२ लाख र सबैभन्दा कम मुगुमा १३ करोड ७५ लाख रुपैयाँ प्रवाहित भएको छ।
औद्योगिक क्षेत्रमा कर्णाली प्रदेशका बैंकहरूले ३ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यस अवधिमा धातु, मेसिनरी र इलेक्ट्रोनिक्ससम्बन्धी उद्योगमा कर्जा २९.४५ प्रतिशतले बढेको छ, भने कृषि, वन तथा पेय पदार्थ उत्पादनमा कर्जा १५.२९ प्रतिशतले घटेको छ।
सेवा क्षेत्रमा प्रवाहित कर्जा २७.३३ प्रतिशतले वृद्धि भई ५० अर्ब २७ करोड ३६ लाख पुगेको छ। गत वर्षको तुलनामा सेवा क्षेत्रको कर्जामा १८.९८ प्रतिशतले गिरावट आएको भएपनि यस वर्ष उल्लेखनीय वृद्धि देखिएको छ।
कर्णाली प्रदेशमा कर्जा प्रवाहसँगै निक्षेप संकलन पनि उल्लेखनीय रूपमा बढेको छ। समीक्षाअवधिमा बैंक तथा वित्तीय संस्थाहरूले १२.५७ प्रतिशतले वृद्धि गर्दै ७४ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार, कर्णाली प्रदेशमा कृषियोग्य क्षेत्र घट्दै गएको देखिए पनि तरकारी र फलफुल उत्पादन क्षेत्रमा वृद्धि भएको छ। यस अवधिमा धान, गहुँ, कोदो र जौको उत्पादनमा गिरावट आएको छ भने मकै, तरकारी र फलफुलको उत्पादनमा वृद्धि भएको छ।
उद्योगहरूको औसत क्षमता उपयोग ३७.९३ प्रतिशत रहेको छ। कागज तथा कागजजन्य उद्योगको क्षमता उपयोग ९७ प्रतिशत पुगेको छ भने दुग्ध पदार्थ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २६ प्रतिशत मात्र रहेको छ।
पर्यटन क्षेत्रतर्फ पनि सकारात्मक संकेत देखिएको छ। भारत, चीन र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या क्रमशः १२.८२, ३.६९ र १३.३४ प्रतिशतले वृद्धि भएको छ।
कर्णाली प्रदेशमा हाल बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ४७७ पुगेको छ भने शाखारहित बैंकिङ सेवा २६ स्थानमा विस्तार गरिएको छ।
विद्युत् प्रसारण लाइन २४१६.४७ किलोमिटर पुगेको र १७.४१ मेगावाट विद्युत् उत्पादन भएको छ। पुष्पलाल लोकमार्ग, कर्णाली कोरिडोर, मदन भण्डारी राजमार्ग र भेरी–बबई डाइभर्सन जस्ता बहुउद्देश्यीय आयोजना तीव्र गतिमा अगाडि बढेका छन्।
राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने अनुमान गरिएको छ। प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान सबैभन्दा धेरै ५८.९ प्रतिशत, कृषि क्षेत्रको ३१.५ प्रतिशत र उद्योग क्षेत्रको ९.६ प्रतिशत रहेको प्रारम्भिक मूल्यांकन गरिएको छ।



















