Dhulikhel Eco Banner new

कर्मचारी सञ्चय कोषले ब्याजदर संशोधन गर्दै बिहीवारदेखि नयाँ दर लागू

5.95K
shares

काठमाडौं, १ साउन । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई प्रदान गरिने वार्षिक ब्याजदर र विभिन्न सापटीमा लिने ब्याजदर संशोधन गरेको छ । कोष सञ्चालक समितिको निर्णयअनुसार संशोधित ब्याजदरहरू साउन १ गतेदेखि लागू गरिएको हो ।

निर्णयअनुसार सञ्चयकर्ताको सञ्चय कोष रकम र निवृत्तिभरण कोष रकममा पाँच प्रतिशत वार्षिक ब्याजदर प्रदान गरिनेछ ।

कोषले सञ्चयकर्तालाई प्रदान गर्ने विभिन्न सापटीको ब्याजदर पनि नयाँ दरअनुसार लागू गरिएको छ । विशेष सापटीमा छ दशमलव दुई पाँच प्रतिशत ब्याज लाग्नेछ भने घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा सात दशमलव दुई पाँच प्रतिशत ब्याजदर तोकिएको छ । जग्गा खरिद सापटी तथा सरल सापटीमा सात दशमलव पाँच प्रतिशत ब्याज लाग्नेछ ।

विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रूपमा तिर्ने सञ्चयकर्तालाई शून्य दशमलव दुई पाँच प्रतिशत छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।

कोषले सञ्चयकर्तालाई विभिन्न प्रयोजनका लागि सापटी उपलब्ध गराउँदै आएको छ । घर निर्माण तथा घर जग्गा खरिदका लागि एक करोड रुपैयाँसम्म, घर मर्मतका लागि तीस लाख रुपैयाँसम्म, शैक्षिक सापटीस्वरूप चालीस लाख रुपैयाँसम्म र भैपरी आउने कार्यका लागि सरल सापटी अन्तर्गत साठी लाख रुपैयाँसम्म सापटी प्रदान गरिँदै आएको छ ।

सञ्चयकर्ताको खातामा जम्मा भएको रकमको सुरक्षणका आधारमा जम्मा रकमको नव्बे प्रतिशतसम्म विशेष सापटीको रूपमा लिन सकिने व्यवस्था पनि यथावत रहेको छ ।

हाल कर्मचारी सञ्चय कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान, संगठित क्षेत्र, सामुदायिक तथा संस्थागत विद्यालयतर्फ गरी जम्मा छ लाख उनान्साठी हजार तीन सय एकानब्बे जना सञ्चयकर्ता र योगदानकर्ताहरू आबद्ध छन् ।

कोषले सञ्चयकर्ताको हितलाई मध्यनजर गर्दै सापटी र ब्याजदर सम्बन्धी व्यवस्था समयअनुसार परिमार्जन गर्दै आएको जनाएको छ ।