Dhulikhel Eco Banner new

हिमालयन बैंकको एफपीओ साउन १३ गते बाँडफाँड हुने

3.06K
shares

काठमाडौं, ९ साउन । हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको एफपीओ आगामी मंगलवार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार साउन ११ गते प्रि–अलोटमेन्ट प्रक्रिया सम्पन्न भएसँगै बाँडफाँडको मिति तय गरिएको हो।

नियमानुसार प्रि–अलोटमेन्टपछि कम्तिमा दुई दिनको अन्तर राखेर मात्र बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेकाले साउन १३ गते मंगलबार एफपीओ बाँडफाँड गरिने तयारी गरिएको हो।

बैंकले असार ३२ गतेदेखि कुल १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६ सय ३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता शेयर एफपीओमार्फत निष्काशन गरेको थियो। बैंकले यस एफपीओको प्रतिकित्ता मूल्य १५७ रुपैयाँ तोकेको थियो, जसमा १०० रुपैयाँ अंकित मूल्य र ५७ रुपैयाँ प्रिमियम समावेश छ।

बिक्री प्रबन्धकका अनुसार एफपीओमा १७ लाखभन्दा बढी आवेदकले आवेदन दिएका छन्, जुन माग प्रस्तावित कित्ताको झन्डै ४ गुणा बढी हो।

मागभन्दा बढी आवेदन परेकाले एफपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। गोलाप्रथामा परेका ९ लाख २५ हजार ४६ जना आवेदकले मात्र शेयर पाउनेछन्। तीमध्ये ९ जनाले ११ कित्ता तथा बाँकी सबैले १० कित्ता शेयर प्राप्त गर्ने प्रक्षेपण गरिएको छ। बाँकी करिब ८ लाखभन्दा बढी आवेदक भने शेयरबाट वञ्चित हुनेछन्।