Dhulikhel Eco Banner new

चाँदी आयातमा अब ५ लाख डलरसम्म सटही सुविधा

3.02K
shares

काठमाडौं, १ भदौ । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानी सीमा बढाउँदै सटही सुविधा ५ लाख अमेरिकी डलरसम्म पुर्‍याएको छ। केन्द्रीय बैंकले आइतबार विदेशी विनिमय कारोबार गर्ने इजाजतप्राप्त निकायका लागि एकीकृत परिपत्र–२०८१ संशोधन गर्दै चाँदी आयातको सन्दर्भमा सटही सीमा वृद्धि गर्ने निर्णय गरेको हो।

संशोधित परिपत्र अनुसार, औद्योगिक प्रयोजनका लागि चाँदी आयात गर्ने सुनचाँदी व्यवसायी उद्योगहरूले अब प्रतिपटक ५ लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा प्राप्त गर्न सक्नेछन्।

यस अन्तर्गत चाँदीबाट गरगहना, कलात्मक वस्तु, भाँडाकुडा जस्ता वस्तु उत्पादन गर्न कच्चा पदार्थका रूपमा चाँदी आयात गर्न मिल्ने व्यवस्था गरिएको छ।

अन्य सामान्य सुनचाँदी व्यवसायीहरूले चाँदी आयात गर्दा प्रतिपटक १ लाख अमेरिकी डलरसम्मको सटही सुविधा प्राप्त गर्नेछन्।

चाँदीका गरगहना तथा कलात्मक वस्तु निर्यात गर्ने व्यवसायीहरूलाई भने निकासी आदेश, प्रतीतपत्र, अग्रिम भुक्तानी वा विदेशबाट प्राप्त खरिद आदेशको आधारमा सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ। यस्तो अवस्थामा भुक्तानी सीमा लागू नहुने व्यवस्था गरिएको छ।

साथै, सटही सुविधा दिने वाणिज्य बैंकले प्रत्येक पटक सुविधा दिनु अघि अघिल्लो सटही अन्तर्गत आयात भएको चाँदी तोकिएको म्यादभित्र निर्यात गरिएको हो वा होइन भन्ने एकिन गर्नु पर्नेछ।

यदि व्यवसायीले अघिल्लो पटक अर्को बैंकबाट सटही सुविधा लिएको भए त्यसको वक्यौता नरहेको सम्बन्धी स्वघोषणा लिनु पर्ने प्रावधान पनि लागू गरिएको छ।