Dhulikhel Eco Banner new

रेमिट्यान्स आप्रवाहमा १९.२ प्रतिशत वृद्धि, एक वर्षमै १७ खर्ब २३ अर्ब भित्रियो

4.12K
shares

काठमाडौं, ८ भदौ । आर्थिक वर्ष २०८१/८२ मा नेपालमा भित्रिएको रेमिट्यान्स उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार, पछिल्लो वर्ष रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेर १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ पुगेको हो।

यसअघिको आर्थिक वर्ष २०८०/८१ मा कुल १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । उक्त १६.५ प्रतिशतको वृद्धि हो। पछिल्लो वर्षको वृद्धिदर अझै उच्च देखिएको छ ।

२०८२ सालको असार महिनामा मात्रै १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनाको तुलनामा (१ खर्ब १७ अर्ब ७८ करोड) यो करिब ७१ अर्ब रुपैयाँले बढी हो।

डलरमा हेर्दा पनि रेमिट्यान्समा ठूलो वृद्धिको संकेत देखिन्छ। गत वर्ष अमेरिकी डलरमा रेमिट्यान्स १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तै आप्रवाह १४.५ प्रतिशतले वृद्धि भएको थियो।

खुद द्वितीय आय समेत उल्लेखनीय रूपमा वृद्धि भई १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो १५ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ थियो।

यो रेमिट्यान्स वृद्धिसँगै श्रम स्वीकृति लिने नेपालीहरूको सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ लिनेको सङ्ख्या ५ लाख ५ हजार ९५७ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ रहेको छ। अघिल्लो वर्ष यी क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ थिए।