श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बिक्री खुला
वि.सं.२०८२ भदौ ११ बुधवार ०९:५४
shares

काठमाडौं, ११ भदौ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज भदौ ११ गतेदेखि पहिलो चरणको आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ बिक्रीका लागि साउन १३ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएको थियो।
पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि १ लाख ६२ हजार १२५ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९ हजार ९३८ कित्ता शेयर बिक्रीमा ल्याइएको हो। उद्योग प्रभावित क्षेत्र अन्तर्गत रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। त्यसअनुसार आवेदकले कम्तीमा १ हजार रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्मको आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन भदौ १५ गतेसम्म दिन सक्नेछन् भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा म्याद भदौ २५ गतेसम्म लम्बिनेछ। उद्योग प्रभावित बासिन्दाका लागि आवेदन भदौ २५ गतेसम्म खुला रहनेछ र आवश्यक परेमा असोज ९ गतेसम्म म्याद लम्बिन सक्नेछ।
उद्योग प्रभावित बासिन्दाले नबिल बैंक र एनएमबि बैंकको तानसेन र फरसाटिकर शाखा तथा ग्लोबल आइएमई बैंकको तानसेन शाखाबाट आवेदन फारम प्राप्त गर्न सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको आस्बा सेवा तथा मेरो शेयर एप प्रयोग गरेर सजिलै आवेदन दिन सक्नेछन्। यस आईपीओको निष्कासन तथा बाँडफाँडको जिम्मेवारी नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले पाएको छ।



















