Dhulikhel Eco Banner new

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ सर्वसाधारणका लागि खुला

3.43K
shares

काठमाडौं, ११ भदौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले पहिलो चरणको आईपीओ बाँडफाँड गरेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ५८ लाख ६० हजार कित्ता साधारण शेयर नेपाल धितोपत्र बोर्डबाट असार २९ गते अनुमति प्राप्त गरी निष्कासनमा ल्याएको हो।

यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ५ लाख २९ हजार ४०० कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड सम्पन्न गरिसकिएको छ।

दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि २ लाख ६४ हजार ७०० कित्ता र आफ्नै कर्मचारीहरूका लागि १ लाख ५८ हजार ८२० कित्ता शेयर सुरक्षित राखेको छ। बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

सर्वसाधारण लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम २० लाख रुपैयाँसम्म लगानी गर्न सकिनेछ।

आईपीओमा आज बिहान १० बजेदेखि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। छिटोमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा आईपीओ निष्कासन अवधि भदौ २५ गतेसम्म लम्ब्याइनेछ।

कम्पनीलाई केयर रेटिङ्स नेपालले केयर एनपी डबल बी इस्युअरु रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।

आईपीओ निष्कासन तथा बाँडफाँडको सम्पूर्ण प्रक्रिया नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडमार्फत सम्पन्न हुनेछ। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड होटल तथा पर्यटन क्षेत्र अन्तर्गतको कम्पनी हो।