तेह्रथुम पावर कम्पनीको लिलामी शेयर बाँडफाँड
वि.सं.२०८२ भदौ ११ बुधवार १०:३५
shares

काठमाडौं, ११ भदौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरको बाँडफाँड गरेको छ।
कम्पनीले यसअघि हकप्रद शेयर निष्कासन गर्दा सर्वसाधारण समूहतर्फका ४ लाख १८ हजार ७३८ कित्ता शेयर बाँकी रहेका थिए। सो बाँकी शेयर लिलामीमार्फत बिक्री गर्न कम्पनीले साउन २७ गतेदेखि भदौ ३ गतेसम्म प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमा बोलकबोल आह्वान गरेको थियो।
उक्त अवधि भित्र प्राप्त बोलपत्रहरू भदौ ६ गते खोलिएको थियो। आवश्यक छानबिन तथा मूल्यांकनपछि भदौ १० गते बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमार्फत बाँडफाँड गरिएको हो।
बाँडफाँडको अन्तिम मूल्य अर्थात् कट अफ प्राइस ३२५ रुपैयाँ कायम भएको छ। उक्त मूल्य वा सोभन्दा बढी दरमा बोलकबोल गर्ने आवेदकहरूलाई सापेक्षिक भारको आधारमा समानुपातिक रूपमा शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।
बाँडफाँडमा नपरेका आवेदकहरूलाई आवेदित रकम भदौ १२ गतेदेखि उनीहरूको बैंक खातामा फिर्ता गरिनेछ। साथै, भदौ १९ गतेसम्म पनि रकम फिर्ता नभएमा सम्बन्धित आवेदकहरूले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँग सम्पर्क राख्न अनुरोध गरिएको छ।



















