सरकार निर्वाचन र रोजगारी सिर्जनामा प्रतिबद्ध छः अर्थमन्त्री खनाल
वि.सं.२०८२ असोज ६ सोमवार १४:४२
shares

काठमाडौं, ६ असोज । अर्थमन्त्री रामेश्वर खनाल र एशियाली विकास बैंक एडीबी का देशीय निर्देशक आर्नो कोस्वाबीच सोमबार भेटवार्ता भएको छ।
भेटका क्रममा निर्देशक कोस्वाले नेपालमा हालैका राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे चासो व्यक्त गर्दै एडीबीको सहयोगमा सञ्चालन भइरहेका कार्यक्रमहरूको निरन्तरताबारे छलफल गरेका थिए।
अर्थमन्त्री खनालले सरकारले तोकिएको समयमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी बहन गर्ने बताएका छन्। उनले युवाको अपेक्षा अनुसार सुशासन र स्वदेशमै रोजगारी सिर्जनामा सरकार कटिबद्ध रहेको पनि जानकारी गराए।
खनालले ऊर्जा, भौतिक पूर्वाधार, खानेपानी तथा अन्य विकास आयोजनामा एडीबीले खेलेको भूमिकाको प्रशंसा गर्दै चालु परियोजनाहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
एडीबी निर्देशक कोस्वाले नेपालको आर्थिक विकासमा सहकार्य गर्न आफूहरू तयार रहेको जनाउँदै आगामी दिनमा सरकारसँग मिलेर काम गर्ने आश्वासन दिए।
बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा पनि सहभागी थिए।



















