इनड्राइभको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वस्तिमा खड्का, नयाँ क्याम्पेन ‘यात्रा तपाईंकै रोजाइमा’ सार्वजनिक
वि.सं.२०८२ असोज २७ सोमवार ११:२४
shares

काठमाडौं, २७ असोज । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका लागि लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडर घोषणा गरेको छ। कम्पनीले सो अवसरमा नयाँ ३६० डिग्री क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा” पनि सार्वजनिक गरेको छ।
क्याम्पेनले स्वतन्त्रता, निष्पक्षता र पारदर्शितालाई प्राथमिकता दिँदै इनड्राइभको पियर–टू–पियर मोडेललाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ। यस प्रणालीमा यात्रु र चालकबीच प्रत्यक्ष रुपमा मोलमोलाई हुने व्यवस्था छ, जसअन्तर्गत प्रयोगकर्ताले आफैंले भाडा प्रस्ताव गर्न र आफूलाई उपयुक्त चालक रोज्न सक्ने सुविधा पाउँछन्।
इनड्राइभका एशिया–प्यासिफिक रिजनल डाइरेक्टर मार्क टल्लीले यो क्याम्पेन स्वतन्त्रता, समानता र समुदायजस्ता मूल्यहरूमा आधारित रहेको भन्दै स्वस्तिमा खड्कालाई यसका लागि उपयुक्त प्रतिनिधि बताए।
इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले पनि क्याम्पेनले निष्पक्ष गतिशीलता र पारदर्शिता प्रतिको कम्पनीको प्रतिबद्धता झल्काउने बताइन्।
ब्रान्ड एम्बासडर घोषणा कार्यक्रममा स्वस्तिमा खड्काले भनिन्, “इनड्राइभको ब्रान्ड एम्बासडर बन्न पाउँदा म अत्यन्त उत्साहित छु। यात्रु र चालकबीचको परस्पर मोलमोलाई प्रणाली निष्पक्षता र सम्मानमा आधारित छ, जुन मेरो विश्वाससँग मेल खान्छ।”



















