Dhulikhel Eco Banner new

गभर्नरको घर भाडामा लिने प्रस्तावको समयसीमा लम्बियो

4.04K
shares

काठमाडौं, २८ असोज । नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलका लागि भाडामा लिन लागिएको घरको प्रस्ताव दर्ता गर्ने समयसीमा कात्तिक १६ गतेसम्मका लागि थप गरेको छ। सोमबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले यसअघि तोकिएको असोज २७ गतेको म्यादलाई बढाएर नयाँ म्याद तोकेको हो।

गभर्नर पौडेलका चितवन र ललितपुरको भैंसेपाटीस्थित दुई घर ‘जेनजी आन्दोलन’का क्रममा आगजनीमा परेपछि राष्ट्र बैंकले वैकल्पिक बसोबासका लागि घर खोजिरहेको हो। यसै सन्दर्भमा गत असोज १२ गते बैंकले घर भाडामा लिनको लागि सूचना प्रकाशित गरेको थियो।

राष्ट्र बैंकले ललितपुरको बखुन्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रभित्र पर्ने, १६ आनादेखि २४ आनासम्मको जग्गामा बनेको घर आवश्यक पर्ने उल्लेख गरेको छ। सो घर आरसीसी संरचनामा बनेको, कम्तीमा १,००० वर्गफुट पिलिन्थ क्षेत्रफल भएको, एकवटा मास्टर बेडरुमसहित कम्तीमा चारवटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल, स्टोररुम रहेको हुनुपर्ने शर्त तोकिएको छ।

साथै सुरक्षाकर्मीका लागि छुट्टै भवन, छ वटा सवारीसाधन अट्न सक्ने पार्किङको व्यवस्था, सुरक्षित कम्पाउन्डवाल, कालोपत्रे सडकसँग जोडिएको, साथै बिजुली, ढल, खानेपानीजस्ता आधारभूत पूर्वाधार रहेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

बैंकले समयसीमा थप गरेसँगै अब इच्छुक घरधनीहरूले कात्तिक १६ गतेभित्र आवश्यक कागजातसहित प्रस्ताव पेस गर्न सक्नेछन्।