Dhulikhel Eco Banner new

इस्लामिक बैंकिङ्ग: यसरी शुरु हुनसक्छ नेपालमा नयाँ सम्भावना

बिना ब्याज कर्जा, जोखिम आधा–आधा

17.95K
shares

यतीबेला विश्वव्यापी रुपमा आर्थिक संरचना बदलिँदै गएको छ । परम्परागत बैंकिङ्गले दिएको सीमितता, व्याजदरको अस्थिरता, ऋणभार र नैतिक वित्तीय व्यवहारप्रतिको चासोका कारण वैकल्पिक वित्तीय प्रणालीप्रति आकर्षण उल्लेखनीय रूपमा बढेका छन् । यसकै बीचमा इस्लामिक बैंकिङ्ग—एक व्याजरहित, जोखिम–साझेदारीमा आधारित वित्तीय प्रणाली—विश्वभर सुदृढ रूपमा उभिँदै गएको छ । नेपालमा इस्लामिक बैंक स्थापना नहुँदा पनि यसको आवश्यकता, सम्भावना र उपयोगिताका विषयमा चर्चा तीव्र बन्दै गएको छ । मुस्लिम समुदाय मात्र होइन, गैर–मुस्लिम समाजमा पनि वैकल्पिक वित्तीय विकल्प खोज्ने प्रवृत्ति बढेसँगै यसको माग थपिएको हो । त्यसो त नेपालमा इस्लामिक बैंकिङ्ग किन आवश्यक हुँदै गएको छ त ? भलै नेपालमा यस्ता खाले बैंक नभएपनि यसको भविष्य कस्तो देखिन्छ त ? यसका लागि नेपाल कति तयार छ ? र यति ठूलो चासो बढाउनुको भित्रि रहस्य के हो त ? बेलायतको एल रायन बैंकले कसरी काम गरिरहेको छ ? यस्ता यावत प्रश्नहरुको उत्तर केवल इस्लामिक बैंक के हो र यसको प्रकार कस्तो हो भन्ने कुरा थाह भएर मात्रै हुँदैन । यसको लागि इस्लामिक बैंकहरुले पछिल्लो समयमा मध्य पूर्व र विश्वभर यती धेरै चर्चा पाइरहेको छ भन्ने गहन विश्लेषण आवश्यक पर्दछ ।

इस्लामिक बैंकिङ्ग आज विश्व अर्थतन्त्रमा तीव्र गतिमा फैलिरहेको एक वैकल्पिक वित्तीय प्रणालीका रूपमा प्रस्तुत भइरहेको छ । यसको दर्शन इस्लामिक शरीयतका सिद्धान्त—विशेषगरी बिन ब्याज कर्जा, आर्थिक गतिविधिमा पारदर्शिता, नैतिकता र सामाजिक न्याय—माथि आधारित छ । आर्थिक असमानता, ब्याजजन्य घोटाला, अनावश्यक सट्टाबाजी र वित्तीय संकटले विश्वलाई पटक–पटक प्रभावित पारेका सन्दर्भमा इस्लामिक बैंकिङ्गले स्थिर, सुरक्षित र दिगो वित्तीय प्रणालीको रूपमा आफूलाई प्रमाणित गरिरहेको छ । त्यसैले आज विश्वका ८० भन्दा बढी देशमा इस्लामिक बैंकिङ्ग विभिन्न मोडेलमा अपनाइएको छ । यसको कुल विश्व वित्तीय परिसम्पत्ति ३.१ ट्रिलियन अमेरिकी डलर नाघेको अनुमान गरिन्छ । इस्लामिक बैंकिको मूल आधार रिबा अर्थात् ब्याजबिना नै प्रवाह गरिने कर्जा रहेको छ, जहाँ पैसा–मात्र–बाट पैसा कमाउने अवधारणालाई कदापी स्वीकार गरिँदैन । बरु यसको सट्टा वास्तविक उत्पादन, व्यापार, उद्यमशीलता र साझेदारीमा आधारित आर्थिक व्यवहारलाई प्राथमिकता दिइन्छ । यस प्रणालीले ऋण दिन्छ तर त्यस ऋणमा ब्याज लिइदैन । तर बैंक व्यवसायसँग साझेदार बन्ने, नाफा–नोक्सान साझा गर्ने, वस्तु किनबेचमार्फत सेवा प्रदान गर्ने, वा वास्तविक सम्पत्तिमा आधारित लगानी गर्ने मोडेल अपनाउँछ।

इस्लामिक बैंकिङ्गले नाफासँगै सामाजिक उत्तरदायित्वलाई पनि अनिवार्य मानेर वित्तीय व्यवहारमा नैतिकता, पारदर्शिता र सामाजिक उपयोगितालाई पहिलो स्थानमा राख्छ। यसले जुवा, अत्यधिक अनिश्चितता, हानिकारक उद्योग र शोषणकारी प्रणालीहरूलाई पूर्णरूपमा निरुत्सान गर्दछ । बरु त्यसको सट्टा दिगो विकास, समुदाय सुदृढीकरण र गरिब तथा मध्यम वर्गलाई वित्तीय पहुँच विस्तार गर्न सहयोग पु¥याउने काम गर्दछ । विश्वका कतिपय मुलुकहरूमा—जसमा मुस्लिम एवं गैर–मुस्लिम दुवै समुदाय रहेका छन । तर यस प्रणालीले घर कर्जा, व्यवसायिक लगानी, कृषि तथा उत्पादन क्षेत्रका परियोजनाहरुमा कर्जा प्रवाह गर्दछ । त्यसैगरी विद्यालय र शिक्षा क्षेत्रमा ब्याजरहित, जोखिम–साझेदारी र वास्तविक सम्पत्तिमा आधारित विकल्प प्रदान गर्दै वित्तीय प्रणालीलाई अधिक स्थिर बनाइदिएको छ। इस्लामिक बैंकिङ्ग केवल धार्मिक प्रणाली मात्र नभएर आर्थिक दृष्टिले अत्यन्त व्यावहारिक, सुरक्षित र जिम्मेवार वित्तीय ढाँचा भएको प्रमाणित भइरहेको छ । त्यसकारण पश्चिमी मुलुकहरू—जस्तै बेलायत, सिङ्गापुर, हङ्गकङ्ग, जर्मनी, दक्षिण अफ्रिका—सम्म पनि यस मोडेलले ठूलो लोकप्रियता हासिल गरेको देखिन्छ। ब्याजरहित वित्तीय कारोबारले मध्यम वर्गलाई राहत दिने, उद्यमीलाई जोखिमबाट जोगाउने, गरिबी तथा असमानता घटाउने, र दीर्घकालीन आर्थिक स्थिरता कायम गर्ने परिणाम दिएकोले इस्लामिक बैंकिङ्गलाई आजको समयको आवश्यकता तथा वैकल्पिक वित्तीय समाधानका रूपमा हेरिएको छ।

उदाहरणको रुपमा बेलायतमा रहेको अल रयान बैंक, बेलायतको सबैभन्दा पुरानो र ठूलो शरिया–नियम अनुपालन गर्दै बनेको बैंक हो। यो बैंक २००४ मा स्थापित भएको थियो र यसले ब्याज नलिने तर शेयर–प्रति लाभमा आधारित वित्तीय मोडेल अपनाएको छ । यस बैंकको एबिल  प्रणालीमा, बैंक र ग्राहकले संयुक्त रूपमा घर किन्नेछन्। ग्राहकले मासिक भाडाजस्तो भुक्तानी गरेर बैंकको हिस्सामा भएको सम्पत्तिमा आफ्ना हिस्सेदार भाग बढाउँदै जान्छन्, र अन्त्यमा सम्पूर्ण घरको स्वामित्व ग्राहकलाई सुम्पिन्छ — यसरी ब्याज लिइनुको सट्टा साझा स्वामित्वमा आधारित मोडेल प्रयोग गरिन्छ ।

अल रयानले बेलायत बाहिर बस्ने नागरिकहरूलाई पनि वित्तीय सुविधा दिएको छ । यसले करिब २२८ मिलियन बराबरको सम्पत्ति फाइनान्स गरेको छ । यस बैंकको सम्पत्ति हाल ३ अर्बभन्दा माथि पुगेको छ, जुन यसका दीर्घकालीन वृद्धिका लागि एउटा ठूला माइलस्टोन हो र इस्लामिक वित्तीय बजारमा यसको दावीलाई थप बल प्रदान गर्दछ। विश्लेषकहरूका अनुसार, यस्तो ब्याजरहित वित्तीय मोडेलले न केवल मुस्लिम समुदायका लागि, तर सम्पूर्ण समाजका लागि नै एक नैतिक र आर्थिक दृष्टिले टिकाउ विकल्प बन्नसक्छ।

इस्लामिक बैंकिङ्ग र परम्परागत बैंकिङ्गमा के फरक ?
इस्लामिक बैंकिङ्ग परम्परागत बैंकिङ्ग प्रणालीभन्दा आधारभूत रूपमा फरक छ । यसको मुख्य सिद्धान्त भनेको ब्याज अर्थात रिबा हो । परम्परागत बैंकले ब्याज भन्छन भने इस्लामिक बैंकहरुले रिबा भन्दछन । परम्परागत बैंकहरूले पैसाबाट पैसा नैै कमाउने प्रणाली अपनाउँछन्, जहाँ ऋण दिने क्रममा ब्याज लिई पैसा कमाइन्छ र ग्राहकलाई जोखिम पुरा रूपमा जिम्मा दिइन्छ । यसमा ग्राहकले आफ्नो व्यवसाय वा आर्थिक अवस्था जे भए पनि ऋण फिर्ता गर्नुपर्छ । यो बैंकिङ्ग नियम हो । यसले कहिलेकाहीँ आर्थिक अस्थिरता, घाटा र मानसिक तनाव निम्त्याउँछ । तर इस्लामिक बैंकहरुको तरिका बेग्लै छ । भनौ ठ्याक्कै उल्टो छ । इस्लामिक बैंकिङ्गले ब्याज लिन नहुने भन्छ । तर नाफा कसरी कमाउँछ त फेरि भन्ने प्रश्न आउँदछ । यसको वास्तविकता के हो भने जब इस्लामिक बैंकले लगानी गर्दछ तब त्यसको जोखिम बाँड्नुपर्छ भन्दछ । यसमा नाफा र नोक्सान दुवै बैंक र ग्राहकबीच साझेदारीमा बाँडिन्छ । जसले केवल नाफा कमाउने मात्र नभई जोखिम पनि संयुक्त रूपमा साझा हुने नियम उल्लेखित छ । यस प्रकारको मोडेलले व्यवसायिक गतिविधिलाई अधिक न्यायपूर्ण र स्थिर बनाउँछ र वित्तीय प्रणालीलाई अस्थिर बनाउने शोषणात्मक अभ्यासलाई रोक्छ।

इस्लामिक बैंकिङ्गमा पैसालाई मात्र वस्तु मानेर नाफा कमाउने परम्परागत दृष्टिकोण अस्वीकार गरिएको हुन्छ । पैसा केवल विनिमयको माध्यम हो । यसको आफ्नै कुनै मूल्य छैन। यसले आर्थिक कारोबारलाई वास्तविक सम्पत्ति, उत्पादन वा सेवा आधारित बनाउँछ । यो सत्यतालाई इस्लामिक बैंकहरुले औल्याएका छन । त्यसैले यसका मुख्य वित्तीय संरचनाहरूमा नाफा–नोक्सान साझेदारी (Mudarabah / Musharakah), लागत र वित्त (Murabahah), भाडामा दिने (Ijara), सेवा शुल्क (Wakala) तथा बिना ब्याजको कर्जा (Qard–e–Hasna) समावेश छन्। Mudarabah मा बैंकले पूँजी उपलब्ध गराउँछ र ग्राहक वा उद्यमीले व्यवसाय सञ्चालन गर्छ। नाफा पूर्व सहमत अनुपातमा बाँडिन्छ र जबसम्म उद्यमीको लापरवाही वा अनियमितता हुँदैन, घाटा भने बैंकले नै वहन गर्दछ । Musharakah मा सबै साझेदार पूँजी र व्यवस्थापनमा योगदान गर्छन् र नाफा–नोक्सान साझेदारीको आधारमा बाँडिन्छ । यस प्रकारको साझेदारीले केवल बैंक र ग्राहकबीचको विश्वास बढाउँछ र बजारमा दीर्घकालीन स्थिरता ल्याउँछ।

Murabahah मा ग्राहकले आवश्यक पर्ने वस्तु (जस्तै गाडी, घर, मेसिन) बैंकमार्फत खरिद गर्छ । त्यसपछि बैंकले वस्तुलाई निश्चित मूल्यमा ग्राहकलाई बेच्छ। यसमा कुनै ब्याज हुँदैन तर निश्चित मुनाफा पूर्व सहमत भने हुन्छ । Ijara वा भाडामा दिने प्रणालीमा बैंकले सम्पत्ति खरिद गरेर ग्राहकलाई निश्चित भाडा लिएर प्रयोग गर्न दिन्छ, र आवश्यकता अनुसार अवधि समाप्त भएपछि ग्राहकलाई खरिद गर्ने विकल्प दिनसक्छ । यसले बैंक र ग्राहकबीच दीर्घकालीन वित्तीय सम्बन्ध कायम गर्छ र सम्पत्तिमा आधारित लेनदेन सुनिश्चित गर्छ।

Wakala मार्फत बैंकले विभिन्न सेवा शुल्क लिन भने सक्छ, जस्तै धन स्थानान्तरण, सल्लाहकार सेवा, कोष संरक्षण आदि, जुन पारम्परिक बैंकिङ्गमा जस्तो ब्याज नभई सेवा शुल्कको रूपमा लिइन्छ । यसैगरी, Qard–e–Hasna वा बिना ब्याजको कर्जा सामाजिक कल्याणको उद्देश्यका लागि दिइन्छ । यसमा ग्राहकले मूलधन मात्र फिर्ता गर्छ र कुनै मुनाफा भने बैंकले लिँदैन। यसले गरिब, विपन्न, विद्यार्थी वा आवश्यक परिस्थितिमा परेका व्यक्तिलाई आर्थिक सहयोग पु¥याउँछ।

समग्रमा, इस्लामिक बैंकिङ्गले वित्तीय कारोबारलाई नैतिक, पारदर्शी, स्थिर र साझा–जोखिममा आधारित बनाउँछ। यसले केवल बैंकको नाफा मात्र होइन, समाजमा आर्थिक समानता, दीर्घकालीन स्थिरता र वित्तीय पहुँचलाई सुनिश्चित गर्छ। ब्याजरहित प्रणाली, वास्तविक सम्पत्तिमा आधारित वित्तीय लेनदेन, साझेदारीमा आधारित नाफा–नोक्सान वितरण, सेवा शुल्क र सामाजिक–कल्याण कर्जा जस्ता सुविधाहरूले वित्तीय प्रणालीलाई अधिक दिगो, न्यायपूर्ण र नैतिक बनाउँछन्। विश्वका धेरै मुलुकहरूमा इस्लामिक बैंकिङ्गको तीव्र विस्तार, यसको विश्वसनीयता र आर्थिक स्थिरतामा योगदानले नै देखाउँछ कि यो प्रणाली केवल धार्मिक दृष्टिकोण मात्र होइन, आर्थिक र सामाजिक दृष्टिले पनि अत्यन्त प्रभावकारी र व्यवहारिक विकल्प हो।

नेपालमा इस्लामिक बैंकको सम्भावना ?
नेपालमा जस्तो बहु–धार्मिक, बहु–सांस्कृतिक र सहिष्णु सामाजिक संरचनामा आधारित मुलुकमा इस्लामिक बैंकिङ्गको सम्भावना अत्यन्त दीर्घकालीन हुनसक्छ । त्यसका धेरै कारणहरु छन । पहिलो त नेपालमा हिन्दु, बौद्ध, मुस्लिम, किराँत, क्रिश्चियनलगायत विविध धार्मिक समुदायहरू शान्तिपूर्वक सहअस्तित्वमा बस्ने नेपालको सामाजिक परिवेशले वैकल्पिक वित्तीय प्रणालीहरूलाई सहज स्वीकार गर्ने वातावरण तयार पारेको छ। पछिल्लो समय विश्वभर फैलँदै गएको इस्लामिक बैंकिङ्ग—जसको आधार नै ब्याजरहित वित्तीय व्यवहारले नेपालजस्तो विकासोन्मुख मुलुकका लागि विशेष उपयोगी बन्न सक्छ । यहाँको ठूलो जनसंख्या अझै औपचारिक वित्तीय प्रणालीमा समावेश हुन सकेका छैनन् । शिक्षा नै भएपनि वित्तिय रुपमा सक्षम भने नेपाली नागरिकहरु अझै हुन सकेका छैनन । हुन त नेपाल राष्ट बैंकले ५७ प्रतिशत जनसंख्या वित्तिय रुपमा साक्षर भनेपनि नेपाली समाजका वास्तविकता भिन्न छन । त्यसैले धेरै नेपाली जन समुदाय अझै वैकल्पिक, सुरक्षित र नैतिक वित्तीय सेवाको खोजीमा छन्। यस्तो अवस्थामा इस्लामिक बैंकिङ्गले मुस्लिम समुदाय मात्र होइन, गैर–मुस्लिम नेपालीहरूलाई पनि आकर्षित गर्नसक्ने अत्यधिक सम्भावना छ ।

इस्लामिक बैंक रेमिट्यान्सले पनि जोड्नसक्छ
नेपालका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको मध्यपूर्वमा कार्यरत १५ लाखभन्दा बढी नेपाली श्रमिकसँग जोडिएको आर्थिक सम्भावना हो। हाल नेपालमा आएका रेमिट्यान्सको ठूलो हिस्सा अनौपचारिक च्यानलमार्फत भित्रिने गर्दछ । जसले राज्यलाई राजस्व गुम्नुका साथै श्रमिकहरूलाई ठगी, जोखिम र आर्थिक सुरक्षाको अभाव सिर्जना गर्छ। यदि नेपालमा इस्लामिक बैंकिङ्गको व्यवस्था गर्ने हो भने मध्यपूर्वमा रहेका लाखौँ नेपालीले विश्वासका साथ औपचारिक बैंकिङ्ग प्रणालीमार्फत पैसा पठाउनेछन । किनभने त्यहाँका धेरै मुलुक इस्लामिक वित्तमा आधारित छन । उनीहरूका आर्थिक व्यवहार इस्लामिक बैंकिङ्ग प्रणालीसँग अधिक मेल खान्छ । किनभने नेपाली कामदारहरुलायसले रेमिट्यान्सको प्रवाहलाई पारदर्शी, सुरक्षित र औपचारिक बनाउने मात्र होइन, देशको राष्ट्रिय आय, विदेशी मुद्रा सञ्चिति, र आर्थिक स्थिरता बढाउन महत्वपूर्ण योगदान पु¥याउँछ। साथै, इस्लामिक लगानीका नयाँ साधनहरू—जस्तै सुकुक (इस्लामिक बन्ड), मुदारबा, मुराबाहा वा वक्फ–कोष—नेपालमा भित्रिने हो भने ठूलो–ठूलो पूर्वाधार परियोजना, क्ःभ् व्यवसाय, कृषि, पर्यटन तथा उत्पादन क्षेत्रमा वैकल्पिक वित्तीय स्रोतको उपलब्धता बढ्नेछ।

हलाल टुरिजममा पनि सम्भावनै सम्भावना
तेस्रो महत्वपूर्ण पक्ष भनेको हलाल उद्योग, इस्लामिक पर्यटन र मुस्लिम–मैत्री सेवा क्षेत्रको विकास हो । यो हाल विश्वभर एक उदयमान क्षेत्र बन्दै गएको छ। नेपालमा हल पर्यटनको सम्भावना अत्यन्तै ठूलो छ । विशेषगरी दक्षिणएशिया, मध्यपूर्व, मलेसिया, इन्डोनेसिया, टर्की र बंगलादेशबाट आउने मुस्लिम पर्यटकहरूको संख्या बढ्दो छ । यदि नेपालले इस्लामिक बैंकिङ्ग, हलाल उद्योग, मुस्लिम–अनुकूल होटल सेवाहरू, प्रार्थनाका सुविधा, भोजन व्यवस्थापन र मुस्लिम–मैत्री पर्यटन संरचना विकास गर्दै जाने हो भने नेपाल दक्षिण एसियाको एक प्रमुख ‘हलाल टुरिजम’ गन्तव्य बन्न सक्छ। यस्तै, हलाल व्यवसाय, हलाल खाद्य उद्योग, हलाल औषधि, कपडा व्यवसाय, तथा इस्लामिक वित्तीय सेवा जस्ता क्षेत्रमा पनि नेपालमा ठूलो बजार सम्भावना देखिन्छ । यसका प्रयोगकर्ताहरू मुस्लिम समुदाय मात्र नभई स्वास्थ्य–चेतनशील र नैतिक व्यापारमा रमाउने आम जनसंख्या पनि हुन सक्छन्।

यसरी हेर्दा, नेपालमा इस्लामिक बैंकिङ्ग लागू हुनु केवल वैकल्पिक वित्तीय सेवा उपलब्ध गराउनु मात्र नभई समग्र मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिनसक्ने सम्भावना बोकेको विषय हो। यसले रेमिट्यान्स प्रवाहलाई औपचारिक बनाउँदै नयाँ लगानी आकर्षित गर्ने, पर्यटन र हलाल उद्योगलाई विस्तार गर्ने, रोजगार सिर्जना गर्ने, वैदेशिक मुद्रा सञ्चिति बढाउने, तथा सामाजिक रूपमा उपेक्षित तथा आर्थिक रूपमा कमजोर वर्गलाई वित्तीय पहुँच दिलाउने क्षमता राख्दछ । वैदेशिक रोजगारमा निर्भरता, वैकल्पिक लगानी आवश्यकताहरू र पर्यटन उद्योगको विस्तार गर्दा इस्लामिक बैंकिङ्ग नेपालका लागि दीर्घकालीन, स्थिर र उपयोगी वित्तीय प्रणाली बन्नसक्छ।