मेटलाइफ नेपालद्वारा इलामका बाढी पहिरो पीडित परिवारलाई पानी जलाशय ट्याङ्की वितरण
वि.सं.२०८२ मंसिर ९ मंगलवार ११:५७
shares

काठमाडौं, ९ मंसिर । केही महिनाअघि इलाममा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूलाई सहयोग गर्न मेटलाइफ नेपालले पानी भण्डारणका लागि ५०० लिटर क्षमताका जलाशय ट्याङ्की वितरण गरेको छ। मेटलाइफले यो सहयोग इलामस्थित समुदाय आधारित संस्था ‘सुनगाभा विकास संस्था’सँग सहकार्यमा गरेको हो।
२०७२ असोज १८ र १९ मा परेको अविरल वर्षाले इलामका धेरै बस्तीमा ठूलो विनाश डढ्यो पुल बगाए, घरहरू क्षतिग्रस्त बनाए, र आवश्यक सेवामा पहुँच अवरुद्ध गर्यो। विशेषगरी, धेरै परिवार सुरक्षित खानेपानीको स्थिर स्रोतबाट बञ्चित भएका कारण दैनिक जीवन र पुनर्निर्माण दुबै कठिन बनेका थिए।
यस आवश्यकतालाई ध्यानमा राख्दै, मेटलाइफ नेपालले सुनगाभासँग साझेदारी गरी ३३८ विस्थापित घरपरिवारमध्ये ८० भन्दा बढी परिवारलाई टिकाउ र सुरक्षित पानी भण्डारण ट्याङ्की उपलब्ध गराएको छ। यसले प्रभावित परिवारहरूलाई सरसफाइ कायम राख्न र दैनिक आवश्यकता पूरा गर्न महत्वपूर्ण सहयोग गर्नेछ।
सहयोग वितरण प्रक्रियामा पूर्ण पारदर्शिता र निष्पक्षता कायम गर्न स्थानीय वडा कार्यालय तथा विपद् प्रतिक्रिया समितिहरूको समन्वयमा काम भइरहेको संस्था बताउँछ। सुनगाभाका स्वयंसेवक र प्राविधिक टोलीले ट्याङ्की वितरणदेखि कागजी प्रक्रिया र अनुगमनसम्मको सम्पूर्ण व्यवस्थापन निरीक्षण गरिरहेका छन्।
यस अवसरमा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, स्वच्छ पानीमा पहुँच पाउनु केवल जीवनरक्षाको कुरा मात्र होइन, यो आशा र गरिमाको विषय हो। इलामका प्रभावित परिवारहरूलाई उनीहरूले पुन स्थापना गर्न आवश्यक सहयोग गर्न पाउँदा हामी गौरवान्वित छौँ, भन्दै सुनगाभासँगको सहकार्यप्रति आभार व्यक्त गरे।
वैश्विक रूपमा बीमा, एन्युटी, कर्मचारी लाभ तथा सम्पत्ति व्यवस्थापन सेवा प्रदान गर्ने अग्रणी वित्तीय संस्था मेटलाइफ सन् १८६८ मा स्थापना भएको हो। हाल विश्वभर ४० भन्दा बढी बजारमा यसको उपस्थिति छ।
मेटलाइफको सहायक संस्थाका रूपमा अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा मेटलाइफ नेपाल सन् २००१ देखि नेपालमा जीवन, दुर्घटना तथा स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आएको छ।
सुनगाभा विकास संस्था इलाममा शिक्षा, स्वास्थ्य, पानी आपूर्ति, जलाशय ट्याङ्की निर्माण र झोलुङ्गे पुल विकास जस्ता समुदाय केन्द्रित परियोजनाहरूमा सक्रिय एक गैरसरकारी संस्था हो। ग्रामीण जीवनस्तर गउषित गर्न यस संस्थाले धेरै वर्षदेखि प्रभावकारी पहलहरू सञ्चालन गर्दै आएको छ।



















