Dhulikhel Eco Banner new

नेशनल लाइफको सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

6.68K
shares

काठमाडौं, १९ मंसिर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले नेपालगञ्जस्थित होटल सोल्टी वेस्टेण्डमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी कर्णाली प्रदेशका ११५ जना तथा सुदूरपश्चिम प्रदेशका १६१ जना अभिकर्ता, त्यससँगै विभागीय प्रमुख, प्रदेश प्रमुख तथा लुम्बिनी प्रदेशअन्तर्गतका शाखा प्रमुखहरूको सहभागितामा कार्यक्रम गरिएको हो।

कार्यक्रमको शुभारम्भ प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा कर्णाली तथा सुदूरपश्चिम प्रदेशबाट सिइओ क्लब सदस्यका रूपमा चयन भएका अभिकर्तालाई सदस्यता वितरण तथा सम्मान गरिएको थियो। साथै, आफ्नो कोड तथा संजालमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

सो अवसरमा कर्णाली र सुदूरपश्चिम प्रदेशका नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्तालाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र तथा खादाले सम्मान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले प्रदेशस्तरीय सम्मान कार्यक्रम देशभर सञ्चालन गर्ने कम्पनीको योजनाअनुसार गण्डकी प्रदेशमा पहिलो चरण पूरा भइसकेको र दोस्रो चरणमा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका अभिकर्तालाई सम्मान गरिएको जानकारी दिए । उनका अनुसार, अभिकर्ता मैत्री योजना अन्तर्गत ल्याइएको सिइओ क्लब सदस्यता योजनामा नेपालभरबाट १६०० भन्दा बढी अभिकर्ता छनोट हुन सफल भएकाले यो योजना अत्यन्त सफल बनेको छ।

समारोहमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले सहभागी अभिकर्ताहरूलाई प्रशिक्षण प्रदान गरे । उनले जीवन बीमा व्यवसायमा सफल हुन धेरै व्यक्तिसँग निरन्तर सम्पर्क विस्तार गर्दै बीमा नीतिबारे प्रभावकारी रूपमा कुरा गर्न सक्ने ज्ञान र सीप आवश्यक हुने बताए।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण पाउन पाएको, पेशागत उन्नतिमा नयाँ ऊर्जा हासिल भएको तथा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्नु आफैंमा प्रेरणादायी रहेको प्रतिक्रिया दिएका थिए।