उठ्न बाँकी कर बक्यौता ९४ अर्ब ९५ करोड नाघ्यो
वि.सं.२०८२ मंसिर २८ आइतवार १७:३७
shares

काठमाडौं, २८ मंसिर । पछिल्ला वर्षहरूमा नेपालमा उठ्न बाँकी कर बक्यौता तीव्र रूपमा बढ्दै गएको छ। आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्म ब्याज, थप दस्तुर र विलम्ब शुल्कसहित उठ्न बाँकी कर बक्यौता ९४ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।
विभागका अनुसार हरेक वर्ष कर बक्यौता बढ्दो क्रममा रहेको छ। पछिल्लो समय कर कार्यालयहरूले निर्धारण गरेका कर रकमप्रति करदाताले चित्त नबुझाउने प्रवृत्ति बढेसँगै असुल हुन बाँकी रकम पनि अर्बौं रुपैयाँमा पुगेको हो।
कर कार्यालयबाट गरिएको कर निर्धारणप्रति करदाताले असहमति जनाउँदै आन्तरिक राजस्व विभागमा प्रशासकीय पुनरावलोकन तथा विभिन्न न्यायिक निकायमा अपिलमा रहेका विवादित कर रकम १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ पुगेको विभागले जनाएको छ।
अघिल्लो आर्थिक वर्षमा बक्यौता संकलनतर्फ आयकरमा २२ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य तोकिएकोमा ८ अर्ब ७१ करोड रुपैयाँ मात्र असुली भएको छ। यो लक्ष्यको ३८।२९ प्रतिशत मात्र हो।
त्यस्तै, मूल्य अभिवृद्धि कर (मू.अ.कर) तर्फ १६ अर्ब ३३ करोड लक्ष्य रहेकोमा १० अर्ब ३३ करोड रुपैयाँ असुली गरिएको छ, जुन लक्ष्यको ६३.२८ प्रतिशत हो।
बक्यौता समायोजनतर्फ आयकरमा २७ अर्ब ३८ करोड लक्ष्य राखिएकोमा २१ अर्ब ३९ करोड रुपैयाँ संकलन भएको छ, जुन ७८.१ प्रतिशत प्रगति हो।
मू।अ।करतर्फ भने १८ अर्ब १७ करोड लक्ष्य रहेकोमा २२ अर्ब २९ करोड रुपैयाँ समायोजन भई १२२.६३ प्रतिशत प्रगति हासिल भएको आन्तरिक राजस्व विभागले जनाएको छ।
कानूनी कारबाहीमार्फत कर असुल गर्ने लक्ष्य ४ अर्ब ३९ करोड रुपैयाँ तोकिएकोमा अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७९ करोड रुपैयाँ मात्र असुली भएको छ। यो लक्ष्यको ४०.७७ प्रतिशत मात्र हो।
नेपालमा व्यवसाय, रोजगारी तथा लगानीबाट करयोग्य आम्दानी गर्ने व्यक्तिले आयकर ऐन, २०५८ को दफा ९६ अनुसार स्वयं घोषणा गरी तोकिएको समयभित्र आय विवरण पेस गर्नुपर्ने कानूनी व्यवस्था छ।
समयमै कर दाखिला नगरेमा, कर परीक्षण तथा अनुसन्धानबाट कर निर्धारण भएमा वा अन्य कारणले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा साविकका अन्य कर रकम तोकिएको समयमा नबुझाउँदा ती रकम कर बक्यौता कायम हुने व्यवस्था छ।



















