भाइदेग मन्दिर पुनः निर्माणको लागि सम्पदा पैदल यात्रा
वि.सं.२०७९ फागुन ६ शनिवार २०:१५
shares

काठमाडौं ६ फागुन । ललितपुर जिल्लाको ललितपुर मंगलबजारमा रहेको भाइदेग मन्दिर पुनः निर्माणका लागि सम्पदा पैदल यात्रा आयोजना गरिएको छ । फागुन ६ गते शिवरात्रीको दिन ललितपुर महानगरपालिका वडा नम्बर १६ मंगलबजारबाट शुरु हुँदै पैदल यात्रा कीर्तिपुरमा रहेको उमा महेश्वरको १२ किलोमिटर लामो यात्रा सम्पन्न भएको हो ।
वि.सं.१९९० को भू–कम्पले क्षति पुर्याएको यो मन्दिरको यो मन्दिरको पुनःनिर्माणका लागि सम्बन्धित निकाएले चासो नदिएपछि पैदल यात्राको आयोजना गरेर मन्दिर पुनः निर्माण गर्न लागिएको रोटरी क्लब अफ पाटन हेरिटेजका सचिव सज्जु प्रधानले जानकारी दिए । उनका अनुसार यो पैदल यात्रामा २ हजार जनाको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रको उद्घाटन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गरेका हुन् । उक्त कायक्रममा ललितपुर महानगरपालिका, कुमारी बैंक लिमिटेड, ललितपुर उद्योग बाणिज्य संघ, कीर्तिपुर उद्योग बाणिज्य संघ, रोटरी क्लव अफ कीर्तिपुर, वयोद्या हस्पिटल, सुनौले नेपाल, रोट्राक क्लव अफ पाटन हेरिटेज र काठमाडौं भ्याली प्रिजर्भेशन ट्रष्ट आदि जस्ता संघसंस्थाहरुको सहयोगमा रहेको आयोजकले जनाएको छ ।
ललितपुर मंगलबजारमा रहेको पाटन दरबार स्कायरको दक्षिण पश्चिममा रहेको भाइदेग तले शैलीको आकर्षक र कलात्मक मन्दिर हो । यो मन्दिर वि.सं. १७३५ सालमा राजा सिद्धिनरसिंह मल्लका चौतारिया तत्कालिन प्रधानमन्त्री भगिरथ भैयाँले काशी विश्वनाथ मन्दिर आक्रमणमा परेर ध्वस्त भएपछि त्यसैको सम्झनामा यो मन्दिरको निर्माण गरेका थिए । यो मन्दिर १९९० सालको भूकम्पनले क्षति गरेपछि अहिलेसम्म पुनः निर्माणका लागि कसैले पनि चासो दिएको छैन ।
भूकम्पले क्षति पुर्याएको अहिले ८० वर्ष वितिसक्यो । सरोकारवाला निकायको ध्यान जान नसकेको यो मन्दिरको पुनः निर्माणका लागि संस्कृति सम्पदा संरक्षण समूहले पहल गरिरहेको छ । यसमा काठमाडौं भ्याली प्रिजर्भेशन ट्रष्टको प्राविधिक सहयोग रहेको छ ।
हिन्दु नेपालीहरु काशीको विश्वनाथ दर्शन गर्न जाने गरेकोमा वि.सं.१७२६ मा मुगल बादशाहले सो मन्दिरलाई ध्वस्त पारे । त्यहाँको मन्दिर ध्वस्त भएको र नेपालीहरुले काशी जान नपारोस् भन्नका लागि यो मन्दिरको निर्माण गरिएको इतिहासकारहरुको भनाइ छ । यो मन्दिरलाइ “भाइचा देगल” पनि भनिन्छ ।
हाल भाषा, कला, संस्कृति, सम्पदा, संरक्षण, सम्बर्धन तथा प्रवर्धन गरि जनमानसमा यसबारे अवगत गराई त्यसको प्रचार प्रसार गरि आन्तरिक तथा वाह्य पर्यटन प्रर्वधन गर्ने हेतुले शिवरात्रीको दिनमा ‘सम्पदा संरक्षणको लागि पैदल यात्रा’ नारा सहित सम्पदा पैदल यात्रा कार्यक्रम आयोजना गरिएको हो । आज शनिबार मंगबजार दरवारस्वायरबाट विहान ७ बजे शरु गरी मंगलबजार, पुल्चोक, अक्षयश्वर महाविहार, भनिमण्डल, जलविनायक, पांगा बस पार्क हुँदै कीर्तिपुरको उमामहेश्वर मन्दिरसम्म यात्रा गरियो ।
यस सम्पदा पैदल यात्रामा सहभागिता जनाउन इच्छुक व्यक्तिले प्रति व्यक्तिले सहयोग स्वरुपमा ७०० रुपैयाँ खल्ती एप वा कुमारी बैंक लिमिटेडको क्यु आर कोड स्क्यान गरी वा संस्थाको दर्ता कार्यालय कुपण्डोलमा सम्पर्क गरी सहयोग रकम जम्मा गरेर दर्ता गर्न सकिने व्यवस्था गरिएको थियो ।
सहभागिहरुबाट १४ लाख रुपैयाँ संकल हुने र सो रकम मन्दिर पुनः निर्माणका लागि खर्च गरिने आयोजकले जनाएको छ ।



















