Dhulikhel Eco Banner new

काठमाडौंमा प्याज पाइन छाड्यो, मूल्य बढाउन लुकाएको आशंका

5.89K
shares

 

काठमाडौं, ६ भदौ । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका छन् ।

आयात रोकिएपछि कालिमाटीलगायतका मुख्य बजारमा प्याज अभाव भएको छ । भारतले केही दिन अघि आफ्नो मुलुकबाट निर्यात हुने प्याजमा ४० प्रतिशत भन्सार महशुल लगाउने निर्णय गरेको थियो ।

वाणिज्य विभागले भारतले कर लगाएपछि प्याज नआएको हुन सक्ने भन्दै आयात भएको प्याज ब्यापारीले लुकाइएको हुन सक्ने अनुमान गरेको छ ।

शनिबार र आइतबार प्याजको छिटफुट मात्रै कारोबार भए पनि सोमबारदेखि भने आयात र बिक्री नै ठप्प भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा भएका सबै पसलमा प्याज सकिएको बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बताए ।

कालिमाटी र काठमाडौंलाई आधार बनाएर आलु प्याजको कारोबार गर्ने व्यापारीहरुले भने भारतले निर्यात कर लगाएपछि उतैका व्यापारीहरुले प्याजको बिक्री नगरेको दाबी गरेका छन् ।

आइतबार कालीमाटी बजारमा प्याजको थोक बिक्री मूल्य ६१ रुपैयाँ प्रतिकिलो थियो । आइतबार दिउँसैदेखि बजारमा प्याजको मूल्य मनपरी लिन थालिएको थियो । लगत्तै वाणिज्य विभागले अनुगमन गरेपछि बजारमा प्याजको आपूर्ति ठप्प भएको छ ।