Dhulikhel Eco Banner new

स्याउ खेतीमा भविष्य खोज्दै बागलुङका किसान

9.09K
shares
ढोरपाटन, १४ भदौ । एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् । अहिले ढोरपाटन क्षेत्रमा मात्रै होइन, तल्लो क्षेत्रमा पनि स्याउ खेतीप्रति कृषकको आकर्षण बढेको छ । खासगरी निसेल ढोरको कुँडे, काँग, ढोरपाटनको मस, नवी, भूजीलगायतका ठाउँमा स्याउ उत्पादन गरिँदै आएकामा अहिले निसीखोला, ताराखोला र बडिगाडको माथिल्लो क्षेत्रमा स्याउ खेती गर्न थालिएको छ ।
पछिल्लो पाँच वर्षयता जिल्लाको तल्लो भेगमा स्याउ लगाउने कृषकको संख्या पनि बढ्दै गएको छ । करिब २२ सय मिटरको उचाईदेखि स्याउ उत्पादन हुने हुँदा कृषकको आकर्षण बढेको पाइन्छ । जिल्लामा सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्रका रुपमा निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रलाई लिन्छ । यी क्षत्रेमा दुई दशकभन्दा अगाडिदेखि व्यावसायिक स्याउ उत्पादन हुँदै आएको पाइन्छ । पछिल्लो समय ताराखोला गाउँपालिका र निसीखोला गाउँपालिकाको उच्च क्षेत्रमा स्याउ खेती विस्तार गरिएको छ । ताराखोला गाउँपालिका–५ ठूलो हिलेमा १ सय ८० वटा स्याउको बिरुवा लगाइएको छ । बिरुवा लगाएको दुई वर्षमै फल्ने हुँदा कृषक यस खेतीतर्फ आकर्षित भएका हुन् ।
गाउँपालिकाको ५ नम्बर वडामा उन्नत प्रजातिको गोल्डेन, गाला, रोटा र फुजी प्रजातिको स्याउ लगाइएको गाउँपालिकाका सायक पशु चिकित्सक प्रमुख चिन्तामणि शर्माले जानकारी दिए । यस वर्ष पनि गाउँपालिकाले आठ सय स्याउका बिरुवा खरिद गरी किसानलाई वितरण गरेको बताउनुभयो । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाले कृषि विकास निर्देशनालय गण्डकी प्रदेशबाट उन्नत जातका स्याउका बिरुवा लिएर कृषकलाई दिएको भन्दै ती बिरुवा सप्रिदै गएको उनको भनाइ छ ।
उन्नत जातका स्याउका बिरुवालाई सरसफाई गर्न, बगैंचामा विषादी व्यावस्थापन र कलमी गर्न सजिलो हुने भएकाले किसानले खेती गर्न चासो देखाएको शर्माकाे भनाइ छ । अघिल्ला वर्षहरुमा १४ रोपनी क्षेत्रमा स्याउ खेती भएको भन्दै यस वर्षदेखि एक रोपनीमै चारदेखि पाँच हजार बिरुवा लगाउन मिल्ने खालको स्याउका बिरुवा विस्तार गर्ने योजना रहेको उनी बताउछिन् ।
निसीखोला गाउँपालिका–५ मा पनि गाउँपालिकाले स्याउ खेती विस्तार गरेको छ । सिप, भल्कोट लगायका क्षेत्रमा स्थानीयले वर्षौं अगाडि स्याउ लगाए पनि उत्पादन गर्न सकेका थिएनन् । प्राविधिक ज्ञान बिना लगाइएका स्याउका बोटले फल नदिएपछि चिन्तित बनेका यहाँका कृषक गाउँपालिकाले माटो परीक्षण गरी नयाँ जातको स्याउका बिरुवा दिएपछि उत्साहित भएका छन् । भौगोलिक वनावट, हावापानी र स्थानीयवासीको मागअनुसार निसीखोलाको माथिल्लो क्षेत्रमा स्याउ खेती विस्तार गर्न थालेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनमगरले जिल्लामा स्याउ खेती विस्तारका लागि ज्ञान केन्द्रबाट कृषकलाई प्रोत्साहन गरेको र उन्नत जातका स्याउका बिरुवासमेत वितरण गर्दै आएको जानकारी दिए। स्याउ खेतीप्रति किसानले चासो देखाएपछि ज्ञान केन्द्रले यस वर्ष २५ सय बढी बिरुवा वितरण गरेको छ । उनका अनुसार हाल बागलुङमा ८० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ । यसमध्ये ५५ हेक्टरमा लगाइएका स्याउका बोटले उत्पादन दिएको उहाँ बताउनुहुन्छ । जिल्लाको माथिल्लो क्षेत्रमा स्याउ खेतीका लागि हावापानी उपयुक्त भएकाले हरेक वर्ष जिल्लामा खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दो छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा स्याउ उत्पादन बढ्ने किसानहरुले आशा गरेका छन् ।