Dhulikhel Eco Banner new
HRM

‘भारतीय कफी आयात बढ्दा समस्या भएको छ’

5.27K
shares

काठमाडौं, १३ जेठ । नेपालमा कफी उत्पादनका लागि राम्रो देश हो । तर आजका दिनमा पनि यहाँको उत्पादनले बजार धान्न सक्दैन । ठूलो परिमाणमा भारतीय बजारबाट कफी आयात गर्नुपर्ने बाध्यता छ । अहिले नेपालमा कफीको अवस्था र निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी चुनावका विषय समेत समेटेर हामीले कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, केटिएम भ्वाइसका लागि सरगम तामाङले उनै अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश ः

नेपालमा अहिले कफी उत्पादनको अवस्था के कस्तो छ ?
नेपाल कफी उत्पादनको एउटा राम्रो सम्भावना भएको देश हो । हिजो भन्दा आज यहाँ कफीको उत्पादन पनि बढ्ने क्रममा रहेको छ । नेपालमा यो भन्दा अगाडि झण्डै ४ सय टन उत्पादन भएको थियो । अहिले ५ सय टन उत्पादन हुने सम्भावना रहेको छ । यसपालि कफीको उत्पादन अलि बढेको छ ।

कफीको उत्पादन चाहिँ कसरी बढाउन सकिन्छ ? कफी राम्रो फलाउनका लागि केके गर्नु पर्ने रहेछ ?
कफी बाली व्यवस्थापनका लागि बिरुवा रोपणदेखी लिएर सिँचाइसम्मको आवश्यकता पर्दछ । कफीले सिधै घाम सहन सक्दैन । त्यसलाई छहारीको आवश्यकता पर्छ । छहारीसँगै हिउदमा सिचाईको आश्यकता हुन्छ । एक पटक फल टिपिसकेपछि पनि छाटकाट को व्यवस्थापन गर्ने, मलजल गर्ने साथै रोग लाग्न बचाउने र किरालाई नियन्त्रण गर्नका लागि समयमै प्रेष्टिसाइजहरु प्रयोग गर्ने गर्नुपर्छ । त्यो किसिमको बाली व्यवस्थापनबाट कफी व्यवसाय अघि बढेको छ । यस्ता कुराहरुमा हामीले ध्यान दिने हो भने उत्पादन पनि बढाउन सकिन्छ ।

नेपालमा कफी को बजारीकरणको अवस्था के कस्तो छ ? कफीको बजारीकरणमा के कस्ता चुनौतीहरु सामना गर्नु परेको छ ?
नेपालमा कफीको सम्भावना राम्रो छ । त्यसअनुसारको बजारीकरण पनि राम्रै छ । तर यहाँ नेपाली कफीभन्दा पनि भारतीय कफीहरु बढी आईरहेको छ । बजारमा भारतीय कफी हावी हुँदा हाम्रो नेपालमा फलेको कफी राम्रो व्यापार हुन सकेको छैन ।

अहिले हाम्रो मूख्य चुनौती भनेको नै यहीँ हो । नेपालीमा कफी खाने बानीको विकास त भएको छ, तर अझै पर्याप्त भएको छैन जस्तो लाग्छ । कफी खान त खाइयो, कहाँको खाइयो ? भन्ने कुरा हाम्रा कफी खाने महानुभावहरुले थाहाँ पाउनु हुन्न । कहिलेकाही खानेलाई जिब्रोले थाहाँ हुने कुरा पनि भएन ।

बिक्री गर्नेले पनि यो कहाँको कफी हो भनेर इमान्दारिपूर्व भने समस्या हुँदैन । खाने मान्छेहरुले पनि नेपाली कफी हो कि होइन भनेर सोध्नु भयो भने राम्रो हुन्छ । अहिलेको हाम्रो चुनौती नै बाहिरको कफी आयात हो ।

नेपालमा अहिले कफी निर्यात भन्दा आयात १० गुणा छ भन्ने तथ्यांकले देखिन्छ । हाम्रोमा उत्पादन राम्रो भएर पनि निर्यात गर्न नसक्नु र बाहिरको आयात गर्नुपर्ने बाध्यताको कारण के होला ?
नेपालमा कफीको उत्पादन नै कम छ । उत्पादन कम भएपछि निर्यात कम त यसै भइहाल्यो नि । उपभोक्ता धेरै भए, मतलब कफीको पारखी बढे । राम्रा बजारमा १५ हजार भन्दा बढि क्याफेहरु सञ्चालनमा छन् । उपभोक्ताहरु धेरै हुने हो भने माग त बढि हाल्छ ।

माग पुरा गर्न कतै न कतैबाट त ल्याउनै पर्‍यो । यहाँ उत्पादन भएको आन्तरिक बजारमा खपत भइरहेको छ । निर्यात गरेर मात्र भएन, निर्यात त १०० टन हाराहारी निर्यात हुन्छ । बाँकी सबै हाम्रो आन्तरिक बजारमा खपत हुन्छ । अहिले त आन्तरिक माग पूरा गर्न पनि बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ ।

कफीको उत्पादन बढाउन महासंघले कस्तो भूमिका निर्वाह गर्दै आइरहेको छ ?
हामीले कफी उत्पादन वृद्धि गर्न समूहहरु निमार्ण गर्ने, हरेक गाउपालिका नगरपालिकाको वडाहरुमा कहाँ– कहाँ ? कफी उत्पादनको सम्भावना हुन्छ भनेर अध्ययन गर्छौ ।

राम्रो उत्पादन हुने ठाउँको स्थानीय तहलाई पत्राचार गरेर बजेटको व्यवस्थापन गरी विरुवा रोप्न जोड दिनुपर्यो भनेर अनुरोध गर्छौँ । हामीले कफीको विकासका लागि संघीय सरकारसँग पनि कुरा गरेका छौँ । अर्थमन्त्रीज्यूसँग यस क्षेत्रको विकास र विस्तारका लागि सुझावहरु दिएका छौँ । बजेट छलफलमा पनि हामीले कफी विकासको कुरा जोडतोडले उठाएका छौँ ।

कफी खेतिबाट हाम्रा किसान कतिको सन्तुष्ट छन् ?
जो दुईचार रोपनीमा एकदुई सय विरुवा रोपेका छन् भने तिनको जीवन निर्वाह त्यो कफीले हुदैन । सानो परिमाणमा खेति गर्नेहरु सन्तुष्ट हुने कुरै भएन । जसले ठूलो परिमाणमा व्यवसायिक तरिकाले कफी खेति गरेका छन्, त्यस्ता किसानहरु भने सन्तुष्ट छन् ।

नेपालमै उत्पादन गरेको कफी नेपाली बजारमा पुर्याउन सक्नुभएको छ ?
नेपालमै उत्पादन गरेको कफी नेपाली बजारमा पुर्याउन सकेको छैन । ४०० टन कफीमा १०० टन कफी बाहिर गएको छ । यहाँ ३०० टन कफी खपत भएको छ । बाहिरबाट आएको कफी भनेको लगभग १६ देखि १७ सय टन चै बाहिरबाट आएको कफी खपत भएको देखिन्छ ।

यसकारणले अब बजारको माग २१ सय टन छ । हाम्रो उत्पादन चै ४०० टन छ । कफीको उत्पादन सम्भावना छ । उत्पादन गर्न सक्यो भने १२ लाख हेक्टरमा कफी हुन्छ । हाम्रो आन्तरिक बजारलाई खपत गरेर पनि बाहिर निर्यात गर्न पर्याप्त हुन्छ । तर सरकारले यसका लागि सहयोग गरेका छैन । सरकारले राम्रो सहयोग गर्ने हो भने कफीमा निकै राम्रो सम्भावना छ ।

नेपालमा उत्पादन भएको कफीको त्यति धेरै ठुलो बजारको समस्या छैन । अन्तर्राष्ट्रिय बजारमा राम्रो माग छ, तर हामीले पुर्याउन सकेका छैनौँ । आगामी १० वर्ष चाहिँ हामीले कफी उत्पादनमा जोड दिएर काम गर्ने हो भने राम्रो हुन्छ ।

अलिकति प्रसंग बदलौँ, तपाईहरु त नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्य पनि हुनुहुन्छ । चुनावी चहलपहल सुरु भयो कि बाँकी छ ?
मेरो जानकारीमा अहिलेसम्म केही थाहाँ छैन । म आफै यो चुनावी कुरा धेरै बुझ्दिन पनि । एफएनसीसीआईको कुरा गरिहाल्नु भयो । अब यो संस्थाले अन्य व्यवसायको कुरामात्रै उठाउने होइन कृषिको कुरा पनि जोडले उठाउनु पर्यो । अझ कफीको यति राम्रो सम्भावना छ । यसबारे पनि एनफएनसीसीआईले इनिसिएसन लिनुपर्छ ।

एफएनसीसीआईमा अब तपाईले कसलाई सर्पोट गर्नहुन्छ ?
अहिले त उम्मेदवारी फाइनल नै भएको छैन । कसले ? क–कसलाई राखेर प्यानल बनाउने हुन् केही आएको छैन । यसकारण अहिले नै यो मान्छे भन्ने सक्ने अवस्था छैन ।

अब एफएनसीसीआईको नेतृत्वमा कस्तो मान्छे आउनुपर्छ ?
अबको नेतृत्व सबैलाई लिएर अघि बढ्न सक्ने हुनुपर्छ । आफ्नो व्यवसायको मात्रै एजेण्डा बोक्ने होइन सबैको एजेण्डा बोक्ने मान्छे चाहिँछ । अझ छोटोमा भन्नुपर्दा फराकिलो सोच भएको र सबैलाई सम्मान गर्नसक्ने मान्छे अबको नेतृत्वमा आउनुपर्छ ।