Dhulikhel Eco Banner new

सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्डः इन्ट्रेस्ट–फ्रि क्रेडिटदेखि स्मार्ट लिमिटसम्म

1.82K
shares

काठमाडौं, १८ माघ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्ने बैंकको रुपमा डिजिटल बैंकिङमा नयाँ आयाम थपेको छ । ग्राहकको असहजता कम गर्ने, सुरक्षा बढाउने र बैंकिङ प्रणालीलाई डिजिटल बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको हो । भर्चुअल कार्ड आउनुअघि ग्राहकले फिजिकल कार्ड पर्समै बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ ।

केटिएम भ्वाइससँगको कुराकानीमा बैंकको क्रेडिट कार्ड युनिट हेड रिमा राजवंशीले भर्चुअल क्रेडिट कार्ड ल्याउनुको पृष्ठभूमिबारे स्पष्ट पार्दै भनिन्, “भर्चुअल कार्ड आउनुअघि ग्राहकले फिजिकल कार्ड पर्समै बोकेर हिँड्नुपर्ने अवस्था थियो । त्यो आफैंमा असहज र जोखिमपूर्ण पनि थियो । यही असहजतालाई हटाउन र डिजिटलाइजेसनलाई प्रवद्र्धन गर्न भर्चुअल क्रेडिट कार्ड ल्याइएको हो ।”

उनका अनुसार सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड नियमित आम्दानी भएका सबै ग्राहकले प्रयोग गर्न सक्छन् । यसमा कुनै निश्चित पेशागत सीमा नरहेको उनले बताइन् । “हामीले आम्दानी–आधारित ग्राहकलाई प्राथमिकतामा राखेका छौँ । तर रेन्टल इनकम भएका, फ्रिल्यान्सरजस्ता ग्राहकले पनि यो कार्ड प्रयोग गर्न सक्छन्,” उनले भनिन् ।

हाल भर्चुअल क्रेडिट कार्डमार्फत क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सकिने सुविधा उपलब्ध रहेको राजवंशीले जानकारी दिइन् । यो नयाँ प्रोडक्ट भएकाले प्रारम्भिक चरणमा सीमित फिचर राखिएको भए पनि भविष्यमा थप फिचरहरू समावेश गर्ने योजना रहेको उनले बताइन् ।

सुरक्षाका दृष्टिले भर्चुअल क्रेडिट कार्ड फिजिकल कार्डभन्दा सुरक्षित रहेको बैंकको दाबी छ । “फिजिकल कार्ड प्रयोग गर्दा पिन सेयर गर्नुपर्ने अवस्था आउँथ्यो, तर भर्चुअल क्रेडिट कार्डमा सबै कन्ट्रोल ग्राहककै हातमा हुन्छ,” उनले भनिन्, “क्यूआर पेमेन्ट गर्दा ओटीपी मोबाइलमै आउँछ, पिन सेयर गर्नु पर्दैन, त्यसैले यो अझ सुरक्षित छ ।”

भर्चुअल क्रेडिट कार्डमा खर्च सीमा ग्राहकले आफैं मोबाइल बैंकिङमार्फत सेट गर्न सक्ने सुविधा पनि रहेको छ । बैंकले ग्राहकको आम्दानीलाई आधार मानेर एक क्रेडिट लिमिट निर्धारण गर्छ, तर त्यसभित्र ग्राहकले आफ्ना आवश्यकताअनुसार सीमा घट–बढ गर्न सक्ने व्यवस्था गरिएको छ ।

राजवंशीका अनुसार डलर कार्ड र अन्य प्रिपेड कार्डमा ग्राहककै खातामा रहेको ब्यालेन्सका आधारमा लिमिट दिइने गरिन्छ । तर भर्चुअल क्रेडिट कार्ड भने आम्दानी–आधारित क्रेडिट लिमिटमा आधारित हुन्छ । “यो बैंकले दिएको इन्ट्रेस–फ्रि लोन जस्तै हो । समयमा भुक्तानी गरेसम्म कुनै ब्याज लाग्दैन,” उनले स्पष्ट पारिन् ।

तर क्रेडिट कार्ड प्रयोग गर्दा वित्तीय अनुशासन अत्यन्तै आवश्यक रहेको उनले जोड दिइन् । “क्रेडिट कार्ड भनेको बैंकले दिएको ऋण हो । ग्राहकले आफ्नो लिमिट कति छ, कहाँ पेमेन्ट गर्दैछु, बिल कहिले आउँछ भन्ने कुरामा ध्यान दिनुपर्छ तर समयमा भुक्तानी नगरे चार्ज लाग्न सक्छ,” उनले भनिन् ।

उनका अनुसार समयमै भुक्तानी गर्दै राम्रो क्रेडिट हिस्ट्री बनाउने ग्राहकले भविष्यमा अन्य वित्तीय सुविधा पनि सजिलै पाउन सक्छन् । भविष्यका योजनाबारे जानकारी दिँदै राजवंशीले सिटिजन्स बैंकले भर्चुअल क्रेडिट कार्डमा ईएमआई स्किम, क्यासब्याक सुविधा र पोइन्ट–बेस्ड सिस्टम ल्याउने तयारी गरिरहेको बताइन् ।

डेबिट कार्डको तुलनामा नेपालमा क्रेडिट कार्डको प्रयोग कम हुनुको मुख्य कारण ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गर्दा खर्च बढ्छ भन्ने मानसिकता रहेको उनले बताइन् । यही कारण सिटिजन्स बैंकले विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ । “हामी डिजिटलाइजेसन बढोस् भन्ने उद्देश्यले निरन्तर ग्राहक जनचेतनामा काम गरिरहेका छौँ,” उनले भनिन् ।