एक महिनामा १४७ अर्बले निक्षेप बढ्दा १३ अर्बले घट्यो ऋण प्रवाह
वि.सं.२०७९ साउन ३ मंगलवार १६:०४
shares

काठमाडौं, ३ साउन । एक महिनाको अवधिमा बैंकहरुमा निक्षेप उल्लेख्य मात्रामा बढ्दा ऋण प्रवाह भने घट्दै गएको छ । गत आर्थिक वर्षको अन्तिम महिना असारमा नेपालका बैंकहरुमा १४७ अर्ब निक्षेप बढेको छ भने ऋण प्रवाहमा १३ अर्बले गिरावट आएको हो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असार महिनाको सुरुमा ३ गते बैंकमा ४३ खर्ब ९४ अर्ब निक्षेप रहेकोमा अन्तिम दिन ३२ गते १४७ अर्बले बढेर ४५ खर्ब ४१ अर्ब पुगेको छ । यो अवधिमा ऋण प्रवाह भने असार ३ गते ४१ ख्र्ब ८८ अर्ब रहेकोमा ३२ गतेसम्म यो तथ्यांक ४१ खर्ब ७५ अर्बमा झरेको छ ।
एक हप्ताको अधिमा भने ४७ अर्बले निक्षेप बढेको अवस्थामा ऋण प्रवाह भने १ अर्बले मात्रै बढेको छ । असारको २४ गते ४४ खर्ब ९४ अर्ब रहेको निक्षेप अन्तिम दिनसम्म आउँदा ४७ अर्बले बढेको हो । असार २४ मा ४१ खर्ब ७४ अर्ब ऋण प्रवाह भएको थियो भने अन्तिम दिनमा आउँदा १ अर्ब बढेर ४१ खर्ब ७५ अर्ब ऋण प्रवाह भएको देखिएको छ ।



















