Dhulikhel Eco Banner new

कृषि विकास बैंकको वितरणयोग्य नाफा करिब ४ अर्ब

5.02K
shares

काठमाडौं, १९ साउन । कृषि विकास बैंकको वितरण योग्य मुनाफा करिब ४ अर्ब पुगेकको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ९० करोड पुगेको हो ।

यो अवधिमा बैंकले खुद नाफा २ अर्ब ३६ करोड रुपैयाँ कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.१६ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेपनि खुद ट्रेडिङ्ग आम्दानी ऋणात्मक भएसँगै बैंकको खुद नाफामा दबाब पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ११.०६ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ७.३६ प्रतिशत र सञ्चालन मुनाफा १८.२५ प्रतिशत घटेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ २१ पैसा घटेर १७ रुपैयाँ ९३ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ २५ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष ०.३१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप २.२६ प्रतिशत र कर्जा १८.५४ प्रतिशत बढेको छ ।