चालू आर्थिक वर्षको पहिलो महिना : निर्यातमा २८ प्रतिशत बढीको गिरावट
वि.सं.२०७९ भदौ ३१ शुक्रवार ०७:००
shares

काठमाडौं, ३० भदौ । चालू आर्थिक वर्षको पहिलो महिना वस्तु निर्यातमा २८ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिमा नेपालबाट साउन महिनामा वस्तुको निर्यातमा २८.७ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो वस्तु निर्यात ११५.९ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जारी गरेको वित्तय स्थितिमा उल्लेख गरिएको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट १४ अर्ब ८१ करोडको वस्तु निर्यात भएको देखिएको छ । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३६.५ प्रतिशत र २४.४ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.७ प्रतिशतले वद्धि भएको छ ।
वस्तुगत आधारमा पाम तेल, जिंक शिट, तयारी पोशाक, औषधी (आयुर्वेदिक), पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पिना, जुटका सामान, जुस, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल वस्तु आयात १२.९ प्रतिशतले कमी आई १३१ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ प्रतिशत, १०.५ प्रतिशत र १५.९ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पंज आइरन, औषधी, रासायनिक मल, कच्चा पाम तेल लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, एम.एस.विलेट, दूरसंचार उपकरण तथा पार्टस्, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्पm कृष्णनगर, कैलाली, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ तातोपानी, जलेश्वर, सुख्खा बन्दरगाह, कैलाली, रसुवा बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।



















