नबिल बैंकको कमाल, तयार भए १८ उद्यमी
वि.सं.२०७९ पुस २२ शुक्रवार १५:४०
shares

काठमाडौं, २२ पुस । नबिल बैंक लिमिटेडले नबिल एसएसई कार्यक्रम अन्तर्गत १८ जनालाई उद्यमी बनाएको छ । नबिल बैंकले पहिलो ब्याचमा २० जनालाई छनोट गरेर तालिममा सहभागि गराएको र त्यसमा दुई जनाले बीचमै छोडेकाले १८ जनाले स्वरोजगार बनेको हुन् ।
शुक्रबार पहिलो ब्याजका प्रशिक्षार्थीलाई विदाइ तथा दोस्रो ब्याजका विद्यार्थीलाई स्वागत गरिएको छ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्ट र नबिल बैंकको सयुंक्त तत्वाधानमा भएको नविल एसएसई पहिलो को हर्टमा सहभागिहरुले उत्पादन गरेका वस्तुहरुको पनि प्रदर्शन गरिएको थियो । आत्मनिर्भर बन्नका लागि यो कार्यक्रमले निकै सहयोग पुगेको सहभागिहरुले बताए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय र नबिल बैंक बीच एम ओ यु समेत गरिएको छ । जसमा त्रिविका तर्फबाट उपकुलपति डा.धर्मकान्त बास्कोटा र नबिल बैंकका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै त्रिविका उपकुलपति डा.बास्कोटाले यस्ता कार्यक्रमले उद्यमशिलता विकासमा टेवा पुग्ने बताए । ‘तपाईहरु शैक्षिक प्रमण पत्रसहित तालिममा प्रवेश गर्नुहुन्छ । निस्कदा उद्यमशिलताको प्रमाणपत्र सहित उद्यमी भएर निस्कनु हुन्छ,’ बास्कोटाले भने । नेपाल निकै सम्भावना भएको देश भए पनि युवाहरु विदेश जानु पर्ने बाध्यतामा रहेकाले यस्ता कार्यक्रमले स्वदेशमा नै रोजगारी सिर्जना गर्नमा सहयोग पुग्ने उनको भनाइ थियो । यस्ता कार्यक्रमहरु अरु बैंकहरुले पनि गर्नु पर्ने उनले बताए ।
नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरी देश विकासका लागि युवा शक्ति सिर्जनात्मक हुन पर्ने धारणा व्यक्त गरे । साथै युवाको शक्तिलाई उद्यममा परिणत गर्नु पर्ने आजको आवश्यकता रहेको उनको भनाइ थियो । विकसित देशहरुले युवाशक्तिको प्रयोग गरेर नै विकास गरेको उदाहरण दिदै चौधरीले नेपालमा पनि युवाहरुलाई जागरुप बनाउनु पर्ने र नविल बैंकले त्यसका लागि सानो प्रयास गरेको बताए ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयका व्यवस्थान विभागका डिन डा.डिल्लीराज शर्माले यस्ता कार्यक्रमबाट युवाहरुलाई आत्मनिर्भर बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यो अभियानलाई देशभरनै सञ्चालन गर्नु पर्ने उनले बताए ।
नेपालीहरुलाई स्वरोजगार बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमबाट थोरै भए पनि उद्यमी तयार पारिएको र यो आगोको झिल्को भएको नबिल बैंकका डीसीईओ मनोज कुमार ज्ञवालीले बताए । यसले समाजमा परिवर्तन ल्याउने बताएका ज्ञावालीले यो कार्यक्रम देश भर नै सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए । सिकेकाहरुले अन्यलाई सिकाउँदै समाजमा धेरै उद्यमी निर्माणमा सहयोग पुग्ने उनको विश्वास थियो ।
‘तपाइहरुलाई लाग्ला यति थोरैबाट के प्रभाव पर्छ र भन्ने लाग्दा तर यो दियो हो, परिवर्तन सानो समूहबाट नै हुन्छ,’ ज्ञवालीले भने । यो कार्यक्रम सबै प्रदेशमा विस्तार गर्ने र स्थानीय रुपमा युवाहरुलाई उद्यमी बनाउने तर्फ आफूहरु लागि रहेको पनि डीसीईओ ज्ञावलीले बताए ।
यो कार्यक्रमबाट निकै महत्वपूर्ण उपलब्धी हासिल गरेको र अहिले उद्यमी बनेर लप्सीको क्याण्डी र चक्लेट उत्पादन गरेको अनुभव दीक्षा पौडेलले सुनाइन् । आफूले सुरुमा काम गर्नका लागि गाउँका महिलाहरुलाई आग्रह गर्दा आफू नै उद्यमी नभएकाले समस्या भए पछि यस्तो कार्यक्रमको खाजिमा रहेको बताइन । यो कार्यक्रमले आफूलाई निकै फाइदा पुगेको उनले सुनाइन ।
त्यस्तै अर्का सहभागि एम बहादुर कार्कीले पनि यो कार्यक्रमले निकै फाइदा पुगेको बताए । विदेशमा रोजगारीका लागि जाँदा नेपाली युवाहरु बाकसमा आउदा निकै आत्मग्लानी हुने गरेकाले आफू स्वदेशमा नै काम गर्नु पर्छ भनेर लागेको सुनाए ।



















