फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा १७ प्रतिशतले बढ्यो
वि.सं.२०८० वैशाख ६ बुधवार १०:१९
shares

कठमाडौं, ६ वैशाख । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थ लिमिटेडको नाफा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार १७.१२ प्रतिशतले नाफा बढेको हो ।
लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.४२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १७.७५ प्रतिशत घटेको छ । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ४ करोड ३५ लाख रुपैयाँबाट घटेर १ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा १०.६८ प्रतिशत बढेको छ ।
नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३७ पैसा घटेर २२ रुपैयाँ ६० पैसामा सीमित भएको छ । पछिल्लो ९ महिनामा लघुवित्तको चुक्ता पुँजी १९ प्रतिशत बढेको छ भने जगेडा कोष ०.२८ प्रतिशत बढेको छ ।



















