GBIME

चैत मसान्तसम्म ४ लघुवित्तको नाफा बढ्यो, ४० को घट्दा ११ ले व्यहोरे नोक्सानी

936
shares

काठमाडौं, ३ जेठ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा वित्तीय विवरण सार्वजनिक गरेको धेरै लघुत्तको नाफा गत वर्षको तुलनामा घटेको छ । लघुवित्तलहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार जम्मा ४ वटा लघुवित्तको मात्रै नाफा बढेको छ । यो अवधिमा ११ वटा लघुवित्तले गत वर्षको तुलनामा नोक्सानी व्यहोरेका छन् भने ४० वटाको नाफा गत वर्षको भन्दा घटेको छ ।

यो अवधिमा सबैभन्दा धेरै नाफा छिमेक लघुवित्तले कमाएको छ । समीक्षा अवधिमा लघुवित्तको नाफा २२.८१ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको ९ महिनामा छिमेक लघुवित्तले ८८ करोड ६ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । । गत आवको सोही अवधिमा कम्पनीको नाफा ७१ करोड ७१ लाख २ हजार रुपैयाँ रहेको थियो ।

छिमेक लघुवित्तसँग नाफा बढाउन सफल लघुवित्तहरुमा फस्र्ट फाइक्रोफाइनान्स, आरएमडिसी लघुवित्त र साना किसान लघुवित्त रहेका छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म आइपुग्दा फस्र्ट माइक्रोफाइनान्सको नाफा १७.१२ प्रतिशतले बढेको छ । ९ महिनामा कम्पनीले १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । त्यस्तै आरएमडिसीको नाफा ३.२० प्रतिशतले बढेको छ । यो लघुवित्तले चैत मसान्तसम्म २७ करोड ४४ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । साना किसान लघुवित्तको नाफा १६.९३ प्रतिशतले बढेको छ । यो चालू आर्थिक वर्षको चैत मसान्तसम्म लघुवित्तले ५८ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ ।

सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार गत आवको ९ महिनाको अवधिको तुलनामा चालू आर्थिक वर्षको ९ महिनामा ४० लघुवित्तको नाफा घटेको छ । तेस्रो त्रैमासिकसम्मका विवरण अनुसार सबैभन्दा धेरै नाफा विजय लघुवित्तको घटेको छ । लघुवित्तले गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ९ महिनामा ९८.०९ प्रतिशतले नाफा घटेको छ । विजय लघुवित्तल यो अवधिमा १७ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै मेरो माइक्रोफाइनान्सको नाफा ९६.४५ प्रतिशतले घटेको छ । यो लघुवित्तले ९ महिनामा १ करोड ३० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । त्यस्तै निर्धन उत्थान लघुवित्तको ९४.५२ प्रतिशतले घटेर ४ करोड ४० लाख रुपैयाँमा सिमित भएको छ । जनउत्थान सामूदायिक लघवित्तको नाफा ९३.९२ प्रतिशतले घटेर ३६ लाख १४ हजार रुपैयाँमा सिमित भएको छ भने फरवार्ड माइक्रोफाइनान्सको ९३.५५ प्रतिशतले कमी आएर ४ करोड ३६ लाख रुपैयाँमा सिमित भएको छ ।

त्यस्तै एनएमबी लघुवित्तको नाफा ८९.८० प्रतिशतले घटेको छ । त्यस्तै नाडेप लघुवित्तको ८९.९५ प्रतिशत, आर्दश लघुवित्तको नाफा ८८.५४ प्रतिश,स्वाभिमान लघुवित्तको ८८.९१ प्रतिशतले, किसान लघुवित्तको नाफा ८७.४३ प्रतिशतले घटेको छ । त्यस्तै सिभिल लघुवित्तको नाफा ८७.५९ प्रतिशत, साधना लघुवित्तको नाफा ८५.७५ प्रतिशत, महुली लघुवित्तको नाफा ८३.७३ प्रतिशत, नेरुडेको ८५.२२ प्रतिशत, ग्रामीण विकासको ७९.१९ प्रतिशतले नाफा घटेको छ ।

यस्तै, डिप्रोक्स लघुवित्तको नाफा ३६.३५ प्रतिशत, कालिका लघुवित्तको ६८.१५ प्रतिशत, स्वरोजगार लघुवित्तको ६०.४१ प्रतिशत, समिटको ६२.३४ प्रतिशत, स्वाभलम्वन लघुवित्तको ६५.२५ प्रतिशत, मिथिलाको ५७.७६ प्रतिशत, मिर्मिरेको ६३.८३ प्रतिशत, आरएसडिसीको ८.८१ प्रतिशत, आशाको ७३.२४ प्रतिशत, नेशनलको ३९.६५ प्रतिशत, गणपतिको २८.१५ प्रतिशत, ग्लोबल आइएमईको ६७.३९ प्रतिशत, नेष्डोको १०.८५ प्रतिशत, महिलाको ५२.८० प्रतिशत, एनआइसी एशियाको ५८.९३ प्रतिशत, राष्ट्र उत्थानको ३२.९६ प्रतिशत, जीवन विकासको ४६.१२ प्रतिशत, सबैको लघुवित्तको ७८.१५ प्रतिशतले घटेको छ । साथै समीक्षा अवधिमा आत्मनिर्भर लघुवित्तको नाफा २७.६४ प्रतिशत र सूर्योदय वोमीको ४५.०३ प्रतिशले घटेको छ ।

लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म ११ वटा कम्पनीले नोक्सानी व्यहोरेका छन् । चैत मसान्तसम्म नोक्सानी व्यहोर्ने लघुवित्तमा लक्ष्मी लघुवित्त, मनाकमना स्मार्ट, गुराँस लघुवित्त, सामुदायिक लघुवित्त, यूनिक नेपाल लघुवित्त, विन नेपाल लघुवित्त, धौलागिरी लघुवित्त, मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, आरम्भ चौतारी लघुवित्त र खप्तड लघुवित्त रहेका छन् । चैत मसान्तसम्म लक्ष्मी लघुवित्त ९ करोड १७ लाख रुपमा नोक्सानीमा रहेको छ । त्यस्तै मनाकामना स्मार्ट लघुवित्त ४२ लाख ५२ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।

त्यस्तै गुराँस लघुवित्त ५४ लाख ९१ हजार, सामुदायिक लघुवित्त ३ करोड ९४ लाख, यूनिक नेपाल लघुवित्त ५ करोड ९८ लाख रुपैयाँ, विन नेपाल लघुवित्त २ करोड ४० लाख, धौलागिरी लघुवित्त ४१ लाख, मानुषी लघुवित्त ३ करोड ४७ लाख, जाल्पा सामूदायिक ३ करोड ९२ लाख, आरम्भ चौतारी ५६ लाख र खप्तड लघुवित्त ८९ लाख ३६ हजार रुपैयाँले नोक्सानीमा छन् ।