मेगा र इन्भेष्टमेन्ट बैंक मर्ज हुने
वि.सं.२०७९ जेठ १९ बिहीवार १५:१७
shares

काठमाडौ., १९ जेठ । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने भएका छन् । यी दुई वटा बैंकका सञ्चालकहरु बीच मर्जरमा जाने विषयमा सहमति भएको हो ।
हिमालयन बैंकसँगको मर्जर भाडिए पछि इन्भेष्टमेन्ट बैंक मर्जरका लागि नयाँ बैंकको खोजिमा रहेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक बीच १००ः९० अनुपातमा मर्जरमा जाने सहमति भएको जनाइएको छ । मर्जरपछि बन्ने बैंकको नाम इन्भेष्टमेन्ट मेगा बैंक राखिने छ ।
बैंकको सञ्चालक समितिको अध्यक्ष अहिलेका इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे हुने तथा प्रमुख कार्यकारी अधिकृतमा ज्योती पाण्डे हुने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले गतवर्ष बैशाखमा मर्जरमा जाने सहमति गरेका थिए । तर हिमालयन बैंकको साधारणसभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरे पछि मर्जरमा जाने कुरा रोकिएको थियो ।
अहिले दोस्रो बजारमा मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता २३४ रुपैयाँ छ । यस्तै एकवर्षपछि कारोबार खुलेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य भने नकारात्मक सर्किट लागेर घट्दो क्रममा रहेको छ । अहिले नेपाल इन्भेष्टमेन्टको सेयर मूल्य ३०७ रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकसँग १ खर्ब ८० अर्ब निक्षेप छ । मेगा बैंकसँग १ खर्ब ४७ अर्बको निक्षेप छ । कर्जा नेपाल इन्भेष्टमेन्ट बैंकको १ खर्ब ७३ अर्ब छ भने मेगा बैंकको १ खर्ब ५० अर्ब रहेको छ । चुक्ता पुँजीको आधारमा हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड छ । मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ । मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुन्छ । स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले बैंकको चुक्ता पुँजी मात्र ३४ अर्बभन्दा बढी हुनेछ ।



















