Dhulikhel Eco Banner new

विदेशी विनिमय सञ्चितिमा २१.१ प्रतिशतले कमी, ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्ने

6.28K
shares

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार विदेशी विनियम सञ्चितिमा २१ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको १० महिनाको अवधिको तुलनामा यो वर्ष २१.१ प्रतिशले गिरावट आएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७९ वैशाख मसान्तमा ९ अर्ब २८ करोड अमेरिकी डलर विदेशी विनिमय सञ्चिति कायम रहेको छ । जुन गत असारको तुलनामा २१.१ प्रतिशत कम हो । २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड अमेरिकी डलर विदेशी विनिमय सञ्चिति रहेकोमा थियो । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १८.३ प्रतिशतले कमी आई १० खर्ब १७ अर्ब २७ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १६.१ प्रतिशतले गिरावट आएर १ खर्ब २९ अर्ब ६१ करोड पुगेको छ ।

२०७९ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८/७९ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।