Dhulikhel Eco Banner new

लक्ष्मी समूहद्वारा “लाक्सपेरियन्स २०२५” प्रदर्शनी आयोजना हुने

3.43K
shares

काठमाडौं, ५ भदौ । नेपालको एक प्रमुख व्यापारिक संस्था लक्ष्मी समूहले भदौ ७ गते शनिबार र ८ गते आइतबार बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक भवनमा ‘लाक्सपेरियन्स २०२५’ नामक भव्य प्रदर्शनी आयोजना गर्न लागेको छ।

उक्त प्रदर्शनीमा हुन्डाई, बिएमडब्ल्यु, काइयी र फोर्थिङ जस्ता अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त सवारी साधनका ब्रान्डहरूको सहभागिता रहनेछ। विशेष रूपमा नेपालमा पहिलो पटक बिएमडब्ल्युको सहभागिता रहने भएकाले यो प्रदर्शनी सवारी साधनप्रेमीहरूका लागि अझ रोमाञ्चक बन्ने विश्वास गरिएको छ।

प्रदर्शनीमा सहभागी हुने आगन्तुकहरूका लागि विशेष छुट, तत्काल सवारी मूल्याङ्कन, नियमित ग्राहकलाई बोनस, सजिलो किस्ताबन्दी, बीमा जस्ता सुविधा उपलब्ध गराइनेछ। नयाँ सवारी किन्न चाहने वा पुरानो साट्न चाहनेका लागि यो उपयुक्त अवसर हुने आयोजक पक्षले जनाएको छ।

साथै, आगन्तुकहरूले नयाँ मोडेलहरू हेर्ने, प्रविधिको अनुभव लिने, सिधै ब्रान्ड प्रतिनिधिसँग कुरा गर्न सक्ने र व्यक्तिगत रूपमा आकर्षक प्रस्तावहरू पाउने अवसरसमेत पाउनेछन्।

सवारी साधन मात्र नभई, सबै उमेर समूहलाई आकर्षित गर्ने गतिविधिहरू पनि प्रदर्शनीमा समावेश गरिनेछन्। जस्तै नेल आर्ट, मेहेन्दी, निस्शुल्क पौडी खेल्ने व्यवस्था लगायत मनोरञ्जनात्मक कार्यक्रमहरू प्रदर्शनीको थप आकर्षण हुनेछन्।

लक्ष्मी समूहको पहलमा आयोजना हुन लागेको यो प्रदर्शनीले नेपाली सवारी साधन बजारमा नयाँ उत्साह र सम्भावना ल्याउने अपेक्षा गरिएको छ।