बेलायत नेपाल साझेदारीलाई ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसीप अवार्ड २०२५
वि.सं.२०८२ कात्तिक २७ बिहीवार १४:३४
shares

काठमाडौं, २७ कात्तिक । बेलायत र नेपालबीचको सीपसम्बन्धी साझेदारीले ‘ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसीप अवार्ड २०२५’ प्राप्त गरेको छ। विश्वभरबाट छनोट भएका पाँच विजेतामध्ये यो साझेदारीले अवार्ड जित्न सफल भएको हो। उक्त अवार्डको घोषणा अक्टोबर २८ मा लन्डनमा सम्पन्न गोइङ ग्लोबल २०२५ सम्मेलनका क्रममा गरिएको थियो। नेपाली साझेदारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूूडामणि शर्माले अवार्ड ग्रहण गरेका थिए।
यो साझेदारीमा बेलायतका चारवटा संस्था, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) सहित नेपालका सार्वजनिक र निजी क्षेत्रका संस्थाहरू सहभागी छन् । ब्रिटिस काउन्सिलको सहयोगमा बेलायत–नेपाल साझेदारीले हरित सीप को क्षेत्रमा देखिएका कमीहरूलाई सम्बोधन गर्न र सार्वजनिक निजी साझेदारीको व्यवस्थित अवधारणा लागू गर्न सहयोग गर्दै आएको छ।
यस साझेदारीमार्फत नेपालमा हरित सीप सल्लाहकार बोर्ड स्थापनामा सहयोग गरिएको छ। यो बोर्डले दीगो शिक्षाका साथै रोजगारीका लागि समावेशी मार्ग निर्माण गर्ने लक्ष्यसहित काम गरिरहेको छ। बोर्डमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिटिइभिटी, एफएनसीसीआइ, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघ का प्रतिनिधिहरू छन् ।
अवार्डका लागि चयन भएका पाँच परियोजनाले संयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष्य अन्तर्गत समावेशी शिक्षासम्बन्धी लक्ष्य पूरा गर्न दीर्घकालीन योगदानबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए। अन्य अवार्ड विजेतामा पाकिस्तान, चीन, इजिप्ट र नाइजेरियाका परियोजनाहरू पनि परेका छन् ।
अवार्ड समारोहपछि बोल्दै सचिव शर्माले भने, “यो अवार्डले बेलायत र नेपालका संस्थाबीचको उत्कृष्ट सहकार्यलाई सम्मान गरेको छ। ग्रिन स्किल एड्भाइजरी बोर्डमार्फत नेपालमा हरित सीप विकासका लागि यो साझेदारीले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु।”
सो अवसरमा ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक रुस्तम मोदीले भने, “यो विश्वव्यापी अवार्डबाट बेलायत–नेपाल साझेदारी सम्मानित हुनु हाम्रो लागि गर्वको कुरा हो। सार्वजनिक र निजी क्षेत्रबीचको सहकार्यबाट हरित सीपको मुद्दा सम्बोधनमा प्राप्त सफलता नेपाल सरकारको दीगो र समावेशी जनशक्ति निर्माण लक्ष्यप्रति ठोस योगदान हो।”
अवार्ड हस्तान्तरण ब्रिटिस काउन्सिलका डेपुटी चिफ एक्जिक्युटिभ केट इवार्ट बिग्सले गर्नुभएको थियो भने, शिक्षासम्बन्धी ग्लोबल डाइरेक्टर म्याडलिन एनसलले विजेता परियोजनाहरूले शिक्षा र दीगो विकासमा पार्ने प्रभावबारे आफ्नो विचार राखेकी थिइन्।
‘गोइङ ग्लोबल पार्टनरसीप कार्यक्रम’ ब्रिटिस काउन्सिलको एक अन्तर्राष्ट्रिय पहल हो, जसले विश्वविद्यालय, कलेज र अनुसन्धान संस्थाहरूमाझ समान, समावेशी र दिगो अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न सहयोग पुर्याउँछ। यो कार्यक्रमले उच्च शिक्षा, विज्ञान तथा प्राविधिक तालिममा अन्तरदेशीय साझेदारीमार्फत दीगो विकास लक्ष्यहरू पूरा गर्न योगदान पुर्याउँदै आएको छ।
कार्यक्रम सुरु भएदेखि ब्रिटिस काउन्सिलले बेलायतका १ सय ५५ उच्च शिक्षासम्बन्धी संस्थाहरूसँग ९ सय ३२ साझेदारी परियोजनामा आर्थिक सहयोग प्रदान गरेको छ र हालसम्म ६१ देशमा अनुसन्धान, शिक्षा, क्षमता विकास र समावेशीकरणका क्षेत्रमा सहकार्य विस्तार गरेको छ।
‘गोइङ ग्लोबल पार्टनरसीप अवार्ड’ कार्यक्रमको पाँचौं वर्षगाँठका अवसरमा आयोजना गरिएको यो अवार्डले ब्रिटिस काउन्सिलको सहयोगमा सञ्चालित विशिष्ट, प्रभावकारी र प्रेरणादायी परियोजनाहरूलाई सम्मान गरेको हो। यस वर्षका लागि १३ मेदेखि ८ जूनसम्म आवेदन खुला गरिएको थियो, जसमा प्राप्त १०५ आवेदनमध्ये उत्कृष्ट पाँच परियोजना छनोट गरिएको हो।
ब्रिटिस काउन्सिल संयुक्त अधिराज्य (युके)को सांस्कृतिक सम्बन्ध र शैक्षिक अवसरका लागि समर्पित अन्तर्राष्ट्रिय संस्था हो। यसले कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषाका कार्यक्रमहरूमार्फत विश्वका २ सयभन्दा बढी मुलुकका नागरिकसँग सहकार्य गर्दै आएको छ। सन् २०२४/२५ मा मात्र ब्रिटिस काउन्सिलले विश्वभरका करिब ५९९ मिलियन व्यक्तिसम्म पहुँच पुर्याएको छ।



















