Dhulikhel Eco Banner new

आयु इन्टरटेन्मेन्टले आईपीओ निष्काशनका लागि नेपाल लाइफ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त

4.1K
shares

काठमाडौं, ५ मंसिर । आयु इन्टरटेन्मेन्ट लिमिटेडले पोखरामा अवस्थित फिस्टेल ड्रिम पार्कको विकास तथा विस्तारका लागि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने तयारी थालेको छ। कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबरका ३० लाख कित्ता सेयर प्रतिकित्ता अंकित मूल्य रु. १०० मा निष्काशन गर्न लागेको हो।

यस आईपीओ प्रक्रियाको बिक्री तथा निष्काशन व्यवस्थापनका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ। मङ्सिर ०३ गते, बुधवार, नेपाल लाइफ क्यापिटलको कमलपोखरीस्थित कार्यालयमा एक समारोहका बीच दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा आयु इन्टरटेन्मेन्टका अध्यक्ष कदम के.सी. र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।

सारथी ग्रुप लगायत प्रतिष्ठित उद्यमी तथा पोखराका प्रमुख पर्यटन व्यवसायीहरूको लगानीमा सञ्चालनमा आएको फिस्टेल ड्रिम पार्क करिब ५७ रोपनी क्षेत्रफलमा फैलिएको छ। सबै उमेरसमूहका लागि उपयुक्त मनोरञ्जनसहितको यो पार्कमा वाटर पार्क, वेभ पुल तथा विभिन्न साहसिक खेलकुदगत गतिविधिहरू समेटिएको छ। यसलाई हाल देशकै सबैभन्दा ठूलो मनोरञ्जन पार्कका रूपमा विकास गरिएको बताइन्छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापन, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन तथा आईपीओ निष्काशन–बिक्री व्यवस्थापन जस्ता सेवा प्रदान गर्ने मर्चेन्ट बैंक हो। फिस्टेल ड्रिम पार्कको आईपीओले पर्यटन तथा मनोरञ्जन क्षेत्रको विस्तारमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।