नेपालमै पहिलो ग्रिन नुडल्स उत्पादन यशोदा फुड्सको चन्द्रौटा प्लान्टमा ८६५ केडब्ल्यूपी सोलार रूफ–टप जडान
वि.सं.२०८२ मंसिर २२ सोमवार १०:०२
shares

काठमाडौं २२ मंसिर । करेन्ट नुडल्सका निर्माता यशोदा फुड्सले दिगोपनाको दिशामा ठूलो कदम चाल्दै चन्द्रौटा कपिलवस्तुस्थित आफ्नो उत्पादन प्लान्टमा ८६५ केडब्ल्यूपी क्षमताको रूफ टप सोलार पीभी प्रणाली सफलतापूर्वक जडान गरेको छ। २३ नोभेम्बर २०२५ देखि सञ्चालनमा आएको यो प्लान्टमार्फत अब उद्योगको ठूलो भाग स्वच्छ तथा हरित ऊर्जा मार्फत सञ्चालन हुनेछ।
यससँगै यशोदा फुड्स नेपालमै पहिलोपटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन सुरू गर्ने उद्योग बनेको छ। कम्पनीले “नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिङ फेसिलिटी” को उपाधि समेत हात पारेको छ। कपिलवस्तु औद्योगिक करिडोरमै पनि छानामाथिको सोलार प्रणाली प्रयोग गर्ने पहिलो उद्योग यशोदा फुड्स बनेको छ।
कम्पनीका अनुसार सौर्य प्लान्टमार्फत उद्योगको करिब ८०५ विद्युत माग पूरा हुने, विद्युत खर्च ६५५ ले घट्ने र कार्बन उत्सर्जनमा उल्लेखनीय कमी आउनेछ। प्रयोग नभई आएका छानाहरूको प्रभावकारी उपयोगले दिगो उद्योग व्यवस्थापनमा नयाँ उदाहरण प्रस्तुत भएको उद्योगले जनाएको छ।
उक्त परियोजना प्राइम रिन्यूएवल्स प्रालिले ईपीसी ठेकेदारको रूपमा निर्माण गरेको हो। वित्तीय सुविधा एनएमबी बैंकले उपलब्ध गराएको थियो भने वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्र एईपीसी तथा जर्मन ग्रान्ट डीकेटीआई परियोजनाको सहयोजनामा व्याज अनुदानसहित आर्थिक सहयोग प्रदान गरिएको थियो।
उद्घाटन समारोहमा बोल्दै यशोदा फुड्सका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. शाहले भने,
“८५६ केडब्ल्यू क्षमताको यस प्लान्टबाट हरेक वर्ष १० लाख युनिटभन्दा बढी बिजुली उत्पादन हुनेछ। यसले करिब २,००० टन सीओटू उत्सर्जन रोकथाम गर्नेछ। उत्पादन लागत घट्ने भएकाले हामी अझ प्रतिस्पर्धी बन्नेछौँ र ग्राहक तथा स्टेकहोल्डरहरूलाई थप भ्याल्यू प्रदान गर्न सक्षम हुनेछौँ।”
एईपीसीका कार्यक्रम प्रमुख सन्तोष राईले यस्ता परियोजनाले नेपाली उद्योगलाई डिकार्बोनाइजेसनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार यस्ता सफल पहलले अन्य उद्योगहरूलाई पनि स्वच्छ ऊर्जातर्फ अभिमुख गराउने अपेक्षा गरिएको छ।
प्राइम रिन्यूएवल्सका अध्यक्ष आशिष गर्गले तीन महिनाभित्र परियोजना सम्पन्न गर्न सफल भएको बताउँदै बाइफेसियल प्यानल तथा एआई सक्षम स्मार्ट इनभर्टर प्रयोग गरिएको जानकारी दिए।
हाल सौर्य ऊर्जा विश्वभर नै सस्तो, स्वच्छ र वातावरण–मैत्री विकल्पको रूपमा तीव्रगतिमा फैलिन थालेका बेला नेपालका उद्योगहरू पनि रूफ टप सोलार जडानतर्फ आकर्षित भइरहेका छन्। एईपीसीका अनुसार हालसम्म २५ मेगावाट संयुक्त क्षमताका ५० भन्दा बढी उद्योगमा यस्ता प्रणाली जडान भइसकेका छन् र संख्या दैनिक बढिरहेको छ।
नेपाल विद्युत प्राधिकरणले प्रदान गर्दै आएको नेट मिटरिङ सुविधाले उद्योगहरूलाई अतिरिक्त विद्युत राष्ट्रिय ग्रिडमा प्रवाह गर्न सहयोग पुर्याउने भएकाले यस्तो प्रविधि अझ आकर्षक बन्दै गएको छ।
उद्घाटन कार्यक्रममा एईपीसीका सन्तोष राई, निरज सापकोटा, तारा प्रसाद पोखरेल, यशोदा फुड्सका जी.पी. शाह, शिवराज, चन्द्रौटा प्लान्ट प्रमुख तथा प्राइम रिन्यूएवल्सका आशिष गर्ग, अभिषेष दाहाल, योगेश बिष्ट लगायतको सहभागिता थियो।



















