Dhulikhel Eco Banner new

थ्रीस्टार हाइड्रोपावरको आईपीओ खुल्यो

4.78K
shares

काठमाडौं, ११ वैशाख । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । हाइड्रो पावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको शेयरका लागि आवेदन खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ दरका ४ लाख ९२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । त्यसमा खोटाङ जिल्लाको प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस) र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ (साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ७३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ७३ हजार ८७५ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न गरेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा बैशाख २५ गते हुनेछ भने ढिलोमा जेठ ९ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने वैशाख २५ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।