बागबजारको सुई–धागोले बुनेको ५० वर्षे विश्वास : श्रेष्ठ टेलरिङको कथा
वि.सं.२०८२ मंसिर २८ आइतवार ११:५२
shares

काठमाडौँको व्यस्त बागबजार । भीड, हतार र व्यापारको चहलपहलबीच एउटा टेलरिङ पसल छ, जहाँ सुई–धागोले मात्र कपडा होइन, पाँच दशकको विश्वास र मेहनत पनि सिउँदै आएको छ। सन् १९७५ मा स्थापना भएको श्रेष्ठ टेलरिङ आज ५० वर्ष पूरा हुँदा पनि उत्तिकै विश्वसनीय र गुणस्तरीय सेवाको परिचायक बनेको छ ।
श्रेष्ठ टेलरिङका सञ्चालक बाबुकाजी श्रेष्ठको जीवन कथा पनि यही सुई–धागो जत्तिकै सरल तर गहिरो छ। गरिबीले थिचिएको समय, पारिवारिक जिम्मेवारी र सीमित आम्दानीबीच उहाँले यो पेशा अपनाउनुभयो। सुरुवातमा बाध्यताका रूपमा रोजिएको टेलरिङ व्यवसाय पछि उहाँको जीवनको पहिचान बन्यो । “पहिला गरिबीले सिकायो, पछि पेशाले नै जीवन बदलिदियो,” उहाँ मुस्कुराउँदै सम्झनुहुन्छ ।
टेलरिङमा आउनुअघि श्रेष्ठ निजामती सेवामा आबद्ध हुनुहुन्थ्यो। तर सरकारी तलबले परिवार धान्न मुस्किल भएपछि उहाँभित्र व्यवसायिक सोच पलाउन थाल्यो। सुरुवाती दिनमा व्यवसायिक ज्ञान र अनुभव नहुँदा चुनौतीहरू कम थिएनन् । तर निरन्तर प्रयास, धैर्यता र मेहनतले ती चुनौतीहरूलाई अवसरमा बदल्दै लग्नुभयो।
सरकारी जागिरपछि आउने सहज अवकाश जीवनभन्दा व्यवसायमै भविष्य देख्दै उहाँले साहसिक निर्णय लिनुभयो—सरकारी जागिर त्याग्ने। त्यो निर्णय उहाँको जीवनकै निर्णायक मोड बन्यो। “त्यो निर्णयप्रति आजसम्म कहिल्यै पछुतो छैन,” उहाँ दृढताका साथ भन्नुहुन्छ । टेलरिङ बाहेक अन्य कुनै व्यवसायमा रुचि नभएको उहाँ बताउनुहुन्छ । बाबुआमाले खेतीपाती निरन्तरता दिन सुझाए पनि उहाँको मन भने सधैँ व्यवसायमै रमायो।
समयसँगै श्रेष्ठ टेलरिङ पनि परिवर्तन हुँदै गयो । बिहेको सिजनमा ग्राहकको घुइँचो लाग्ने गर्छ, अन्य समयमा व्यवसाय केही सुस्त देखिन्छ । तर ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सेवा सुधार, नयाँ डिजाइन र प्रविधि अपनाउँदै जाँदा व्यवसाय फेरि सबल बन्दै गएको छ। यही निरन्तर अनुकूलन नै श्रेष्ठ टेलरिङको सफलताको मूल मन्त्र बनेको छ ।
आज श्रेष्ठ टेलरिङमा करिब १०० जना कर्मचारी कार्यरत छन्। परिवारका सदस्यहरू पनि सक्रिय रूपमा व्यवसायमा संलग्न छन् । पारिवारिक समर्पण, पुस्तौँदेखिको अनुभव र स्पष्ट व्यवसायिक रणनीतिले यो टेलरिङलाई एउटा सामान्य पसलबाट विश्वासिलो ब्रान्डमा रूपान्तरण गरेको छ ।
श्रेष्ठको कथाले मेहनत, धैर्यता र अनुशासनको महत्त्व स्पष्ट देखाउँछ । उहाँको अनुभवले भन्छ—सफलता कुनै एकैदिन आउने उपलब्धि होइन, यो निरन्तर श्रमको परिणाम हो। देशमा विद्यमान राजनीतिक अस्थिरताले व्यवसायमा नकारात्मक असर पारेको भन्दै उहाँ युवाहरूमा व्यवसायप्रति चासो घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुहुन्छ ।
तर अन्त्यमा उहाँको सन्देश आशावादी छ। “यदि पूर्ण लगनशीलता, धैर्यता र इमानदारीका साथ कुनै पनि व्यवसाय गरियो भने सफलता अवश्य मिल्छ,” उहाँ विशेष गरी जेन–जी युवाहरूलाई सन्देश दिनुहुन्छ ।
बागबजारको एउटा सानो टेलरिङ पसलबाट सुरु भएको यो यात्रा आज ५० वर्षको विश्वासमा पुगेको छ । श्रेष्ठ टेलरिङ केवल कपडा सिउने ठाउँ मात्र होइन, यो मेहनतले भविष्य बुन्न सकिन्छ भन्ने जीवित उदाहरण पनि हो ।
















