Dhulikhel Eco Banner new

रिलायन्स लाईफलाई २४ घण्टा भित्र कागजात पेश गर्न समितिको निर्देशन

5.5K
shares

काठमाडौं, १६ साउन । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले २४ घण्टा भित्र कागजता पेश गर्नका लागि निर्देशन दिएको छ । आइतबार छलफलका लागि सबै कम्पनीका सीईओलाई बोलाएको बीमा समितिले रिलायन्सलाई सर्जन विकको बीमा भुक्तानी गर्दा तयार भएका कागजात पेश गर्न भनेको र अरु कम्पनीहरुलाई पनि यस्तो अवस्था आउन सक्ने तर्फ सजग गराएको हो ।

कागजात आए पछि कानुन बमोजिम प्रक्रिया अगाडि बढाइने समितिका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘हिजो सबै बीमा कम्पनीका सीईओहरुलाई छलफलका लागि बालाएका थियौँ, यस्तो घटना अरु कम्पनीमा पनि आउन सक्छ भन्ने तर्फ सजग गराउने काम भयो,’ उनले भने ।

जीवन बीमा गराएका बाँकेका सर्जन विकको हत्या गरेर बीमा रकम दाबी भुक्तानी भएको प्रमाणीत भए पछि अहिले यो विषय बीमा क्षेत्रका लागि निकै पेचिलो बनेको छ । यो बीमा दाबी रकम बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नै हस्तान्तरण गरेका थिए ।

सर्जनको बीमा गर्ने व्यक्तिको योजनामा उनको नक्कली बिहे गरेर बीमा रकम भुक्तानी दिएको प्रहरीले जनाएको छ । यो घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ ।